
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर आजै बिदा हुने भएका छन् । घिमिरेले आजै सरकारी निवास छोड्ने तयारी पनि गरेका हुन् ।
संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले यसबारे जवाफ दिनुपर्ने हुँदा घिमिरे सार्वजनिक घोषणा नगरी बिदा हुन लागेका हुन् ।
संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेको प्रतिनिधिसभाका सभामुख, उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल हुने उल्लेख छ ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । यसका लागि आज र भोलि आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदै छ ।
सभामुख र उपसभामुखको कार्यकाल आज गएराति १२ बजेदेखि सकिएको छ । देवराज घिमिरे २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए । घिमिरे एमालेबाट झापा-२ बाट निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर २०७९ माघ ७ गते उपसभामुखमा निर्वाचित भएकी थिइन् ।












