काठमाडौँ । रसुवागढी नाका १ जनवरी २०२६ १७ पुस देखि सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले यसको पुष्टि गरेको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, चीन-नेपाल जोड्ने बेलिब्रिज निर्माण पूरा भइसकेको छ । २४ असारमा भोटेकोशी नदीको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्णरूपमा अवरुद्ध भएको थियो ।
नेपाल र चीनको द्विपक्षीय पहलमा निर्माण गरिएको बेलिब्रिज प्राविधिक परीक्षणपछि नाका सञ्चालनका लागि तयार भएको हो । चीनको समकक्षी पक्षले पनि नाका १ जनवरीदेखि खोल्ने पुष्टि गरेको छ ।
नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, “नाका खुल्ने निश्चित भएपछि ड्राइपोर्टमा गाडी पार्किङ र सामान व्यवस्थापनका लागि तयारी पूरा भइसकेको छ।”
रसुवागढी नाका बन्द भएपछि चीनसँगको मुख्य व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी हुँदै सञ्चालन हुँदै आएको थियो । तातोपानी नाका पनि लामो समय बाढी र पहिरोका कारण बन्द रहँदा व्यापार प्रभावित भएको थियो, जसले चाडबाडको समयमा व्यापारीलाई ठूलो नोक्सानी पुर्याएको थियो ।












