Logo
Logo

चोलेन्द्र, वंशीराज र दीपक भट्ट जोड्ने को हुन इनम ?


882
Shares

एउटा मोबाइलमा देखिएको सम्पर्क सूचीले अहिले नेपाली राजनीतिक, प्रशासनिक र सुरक्षा वृत्तमा ठूलो हलचल ल्याएको छ । प्रहरी अनुसन्धानको एउटा सानो कडी कता पुगेर ठोक्किएको छ ? यसको उत्तर खोज्दा अचम्मको जालो बाहिर आएको छ । यस सञ्जालमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा जोडिएका छन् । यसैगरी सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहाल पनि यसै वृत्तमा छन् । सम्पत्ति शुद्धीकरणको मुद्दामा कारागारमा रहेका व्यवसायी दीपक भट्ट पनि यसै कडीमा भेटिएका छन् । यी सबै उच्च र प्रभावशाली पात्रहरूको बीचमा ३० वर्षीय युवक इनम सापकोटा कसरी जोडिए ? आखिर को हुन् यी इनम सापकोटा ? उनी कसरी यो सबै घटनाक्रमको केन्द्रमा आइपुगे ?


अहिले ३० वर्षीय इनम सापकोटा काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । प्रहरीले उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । तर, उनको पक्राउको कथा अभद्र व्यवहारको सामान्य मुद्दामा मात्र सीमित देखिँदैन । अनुसन्धानको घेरा फराकिलो हुँदै जाँदा नयाँ–नयाँ तथ्यहरू बाहिर आउन थालेका छन् । उनको सम्पर्क पूर्वप्रधानन्यायाधीशदेखि निलम्बित एआईजी र कारागारमा रहेका व्यवसायीसम्म पुगेको छ ।

सापकोटालाई असोज १४ गते पक्राउ गरिएको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइयो। त्यसबेला उनी नेपाल छाडेर दिल्ली जाने तयारीमा थिए । विमानस्थलमा बोर्डिङ पास लिने क्रममा प्रहरीको विशेष ब्यूरोले उनलाई नियन्त्रणमा लियो । यसबाट स्पष्ट हुन्छ कि प्रहरीले उनलाई पहिलेदेखि नै सूक्ष्म निगरानीमा राखेको थियो । उनी देश छाडेर भागिसक्ने सम्भावना देखिएपछि प्रहरीले तत्काल कदम चालेको हो ।

तर प्रहरीको नजर आखिर सापकोटामाथि कसरी पर्यो ? यसको सुरुवाती कडी पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मोबाइलसम्म पुग्छ । केही समयअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा प्रहरीले उनीमाथि अनुसन्धान सुरु गर्यो। अनुसन्धानकै क्रममा जबराले प्रयोग गर्ने मोबाइलको प्राविधिक परीक्षण गरियो ।

मोबाइल परीक्षणका क्रममा प्रहरीले एउटा रोचक कुरा पत्ता लगायो । त्यसमा इनम सापकोटासँग निरन्तर सम्पर्क भएको विवरण भेटियो । प्रहरी स्रोतका अनुसार जबरा र सापकोटाबीच बारम्बार फोन र म्यासेजमा कुराकानी भएको देखियो । त्यसपछि प्रहरी अनुसन्धानको एउटा नयाँ ढोका खुल्यो । प्रहरी अधिकारीहरू एकाएक सोच्न बाध्य भए– पूर्वप्रधानन्यायाधीशजस्तो व्यक्तिसँग बारम्बार सम्पर्कमा रहने यो सामान्य युवक को हुन् ?

मोबाइलमा भेटिएको यही शंकास्पद सम्पर्कका आधारमा प्रहरीले सापकोटाको खोजी तीव्र बनायो । उनको दैनिक गतिविधि, भेटघाट र आवतजावतमाथि कडा निगरानी राखियो । निगरानी बढ्दै जाँदा सापकोटा देश छाड्ने तयारीमा लागेका थिए । तर विमानस्थल पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भयो ।

सापकोटा पक्राउ परेपछि यो कथा यतिमै रोकिएन । जबरा र सापकोटाको सम्बन्धबारे खोजतलास गर्दा अर्को ठूलो नाम जोडियो । अनुसन्धान टोली सशस्त्र प्रहरीका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालसम्म पुग्यो ।

असोज ११ गते एउटा चाखलाग्दो दृश्य देखियो । निलम्बित एआईजी दाहाल टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए । त्यतिबेला पूर्वप्रधानन्यायाधीश जबरालाई सोही कार्यालयमा प्रहरी नियन्त्रणमा राखिएको थियो ।

तर प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीशलाई भेट्न बहालवाला उच्च प्रहरी अधिकारी आफैं पुग्नु सामान्य थिएन । यो भेट आफैंमा अनुसन्धानको ठूलो विषय बन्यो । दाहाल र जबराबीच आखिर के सम्बन्ध थियो ? प्रहरी कार्यालयभित्रै भएको त्यो भेटमा कस्ता कुरा भए ? त्यो भेटअघि र भेटपछि उनीहरूले कस–कसलाई फोन गरे ? यी प्रश्नहरूले अहिले प्रहरी अनुसन्धानलाई थप जटिल र गम्भीर बनाएको छ ।

वंशीराज दाहाल स्वयं अहिले निलम्बनको अवस्थामा छन् । गृह मन्त्रालयले उनीमाथि जाँचबुझ गर्नका लागि विशेष अधिकृत नै तोकेको छ । उनीमाथि राज्यका संवेदनशील सूचना चुहावट गरेको गम्भीर आरोप लागेको छ ।

अनुसन्धानको क्रममा अर्को सनसनीपूर्ण कुरा पनि उठेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको गतिविधिसँग सम्बन्धित सूचना संकलन वा निगरानी गरिएको विषय पनि बाहिर आएको छ । के दाहालले प्रधानमन्त्रीको निगरानी गराएका थिए ? वा प्रधानमन्त्री सम्बन्धी गोपनीय जानकारी अरू कसैलाई पुर्याएका थिए ? यस विषयमा अहिलेसम्म औपचारिक निष्कर्ष भने सार्वजनिक भइसकेको छैन । सूचना चुहावट भयो कि भएन, कसले कसलाई सूचना दियो र यसको वास्तविक उद्देश्य के थियो भन्ने कुरा अझै अनुसन्धानमै छ ।

यद्यपि, गृहमन्त्री सुदन गुरुङले भने यस विषयमा निकै कडा अडान व्यक्त गरेका छन् । उनले राज्यको संवेदनशील सूचना चुहावट गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने बताएका छन् । दोषीलाई कानूनी कठघरामा ल्याएरै छाड्ने उनको दाबी छ ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्-‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, यो एक र्वजनिक जिम्मेवारी हो। । पदले सूचनामा पहुँच दिन्छ, तर त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई दिँदैन। यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न ठूलो मद्दत गर्छ । अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न यी जानकारी निर्णायक हुन्छन् । राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, उसले कुनै उन्मुक्ति पाउने छैन। त्यस्ता व्यक्तिलाई कानूनको कठघरामा ल्याइनेछ।’

गृह मन्त्रालयको यो कदम र प्रहरीको सूक्ष्म अनुसन्धानले तरंग पैदा गरेको छ । जबरासँग जोडिएका सापकोटा, सापकोटासँग जोडिएका दाहाल र दाहालमाथि लागेको सूचना चुहावटको आरोप केवल संयोग मात्रै हुन् ? वा यी सबै एउटै ठूलो नेटवर्कका फरक–फरक तह हुन् ? अहिले नेपाल प्रहरीले यही मुख्य प्रश्नको उत्तर खोजिरहेको छ ।

यस प्रकरणमा अर्को रोचक कडी हुन्व्य-वसायी दीपक भट्ट । उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर मुद्दामा पुर्पक्षका लागि कारागारमा थुनामा छन् । प्रहरी स्रोतका अनुसार कारागारभित्रै रहेका भट्टसँग पनि इनम सापकोटाको निरन्तर सम्पर्क रहेको पाइएको छ ।

अझ गम्भीर कुरा त के भने, कारागारभित्रबाटै भट्टले सापकोटालाई पटक-पटक फोन गरेको कल डिटेल भेटिएको छ । अब प्रश्न झन् जटिल र पेचिलो बनेको छ । कारागारमा रहेका व्यवसायी, प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश र निलम्बित अवस्थामा रहेका सशस्त्र प्रहरीका उच्च अधिकारी-यी सबैको बीचमा ३० वर्षीय सापकोटा कसरी जोडिए ? उनी कसरी यो सबैको केन्द्रविन्दु बने ?

प्रहरी स्रोतका अनुसार सापकोटाले पूर्वप्रधानन्यायाधीश जबरासँगको सम्पर्कमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका थिए । विशेषगरी कारागारमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित विषयहरूमा सहजीकरण गर्न उनले सम्पर्क बढाएको प्रहरीको आशंका छ ।

अहिले प्रहरीका लागि सबैभन्दा बलियो र महत्त्वपूर्ण प्रमाण बनेको छ– इनम सापकोटाको मोबाइल फोन । प्रहरीले नियन्त्रणमा लिएको उक्त मोबाइल डिजिटल परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब)मा पठाएको छ । मोबाइलमा रहेका कल डिटेल, मेसेज, अडियो रेकर्डिङ र अन्य विद्युतीय प्रमाणको गहिरो अध्ययन भइरहेको छ । प्रहरीले विशेषगरी ह्वाट्सएपमार्फत भएका कुराकानी र च्याटहरूमा ध्यान केन्द्रित गरेको छ ।

अझ गम्भीर कुरा के भने, मोबाइल परीक्षणका क्रममा ठूलो आर्थिक कारोबारसँग सम्बन्धित विवरणहरूसमेत भेटिएको प्रहरी स्रोतको दाबी छ । च्याटहरूमा निश्चित रकम नै उल्लेख गरेर कुराकानी भएका सन्देशहरू फेला परेका छन् ।

तर रकम उल्लेख हुँदैमा सबै कुरा प्रमाणित भइहाल्दैन । त्यो रकम कसले कसलाई, किन र कुन प्रयोजनका लागि दिन खोजेको हो ? के वास्तवमै पैसाको लेनदेन भएको थियो वा केवल कुराकानीमा मात्र सीमित थियो ? यदि लेनदेन भएकै हो भने त्यसको स्रोत के हो र पैसा कहाँ पुग्यो ? यी सबै प्रश्नको प्रमाणसहित उत्तर नआएसम्म कसैलाई दोषी ठहर गर्न मिल्दैन ।

अनुसन्धानका क्रममा सापकोटाको विगतबारे अर्को चाखलाग्दो तथ्य पनि बाहिर आएको छ । करिब ६ महिनाअघि उनले नेपाल प्रहरीका एक उच्च अधिकारीसँग भेट गरेका थिए । त्यस भेटमा उनले नेपालस्थित केही वैदेशिक दूतावासहरूसँग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको दाबी गरेका थिए । उनले ती अधिकारीलाई बढुवाका लागि पहल गरिदिने आश्वासनसमेत दिएको चर्चा अनुसन्धानमा उठेको छ ।

यदि यो दाबी प्रमाणित भयो भने घटनाले अर्कै मोड लिनेछ । सापकोटा सामान्य सम्पर्क राख्ने व्यक्ति मात्र नभई ठूला–ठूला शक्ति केन्द्रहरूमा पहुँच पुर्याउने ‘फिक्सर’ वा बिचौलियाका रूपमा सक्रिय थिए भन्ने कुरा प्रमाणित हुनेछ । तर यो विषय पनि अहिले प्रहरी अनुसन्धानकै घेराभित्र छ ।

यदि मोबाइलमा भेटिएका सम्पर्क, ह्वाट्सएपका कुराकानी, आर्थिक लेनदेनका विवरण, जबरा, दाहाल र भट्टसँगको सम्बन्ध एउटै साङ्लोमा जोडिन्छन् भने सापकोटाको भूमिका निकै ठूलो ठहरिनेछ । तर, यदि ती सम्पर्क केवल व्यक्तिगत वा अलग–अलग विषयका थिए र कुनै गैरकानूनी काम भएको देखिँदैन भने यो सबै घटनाक्रम केवल एउटा संयोग मात्र पनि हुन सक्छ ।

त्यसैले अहिले प्रश्न उठेको छ– चोलेन्द्र शमशेर जबरासँग सापकोटाको वास्तविक सम्बन्ध के थियो ? वंशीराज दाहालसँग उनको सम्पर्क किन र कसरी भयो ? कारागारभित्रबाट दीपक भट्टले उनलाई किन निरन्तर फोन गरिरहे ? के उनी शक्ति केन्द्रहरूबीच सेटिङ गराउने मुख्य पात्र थिए ? वा उनी अरू कसैको इशारामा काम गर्ने एउटा साधारण पात्र मात्रै हुन् ? यी सबै पेचिला प्रश्नहरूको उत्तर अब सापकोटाको मोबाइल, फरेन्सिक रिपोर्ट, कल डिटेल, सन्देशहरू, बयान र बैंक खाताको अनुसन्धानले दिनेछ ।

सामान्यता हेर्दा इनम सापकोटा कुनै सार्वजनिक वा राजनीतिक पदमा रहेका व्यक्ति होइनन् । तर उनको मोबाइलमा देखिएका उच्चस्तरीय सम्पर्कले उनलाई एकाएक अनुसन्धानको केन्द्रमा ल्याइदिएको छ । राजनीतिक, प्रशासनिक, सुरक्षा र व्यापारिक क्षेत्रका शक्तिशाली पात्रहरूसँग उनको सम्पर्क देखिनु सामान्य कुरा होइन ।

अन्ततः सापकोटा दोषी हुन् या निर्दोष, यसको अन्तिम निर्णय अदालतले गर्नेछ । प्रहरीले आफ्नो अनुसन्धानबाट बलियो प्रमाण जुटाउनुपर्नेछ । अभियोगलाई तथ्य र प्रमाणले पुष्टि गर्नुपर्नेछ । तर एउटा कुरा भने घाम जत्तिकै छर्लङ्ग भएको छ । एउटा मोबाइलमा भेटिएको सम्पर्क सूचीले राज्यका उच्च निकायहरूलाई तानेको छ । यस सञ्जालको एक छेउमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा छन् । अर्को छेउमा निलम्बित एआईजी वंशीराज दाहाल र कारागारमा रहेका व्यवसायी दीपक भट्ट छन् । अनि यी सबैको बीचमा देखिएका इनम सापकोटा आखिर ‘सम्पर्क सूत्र’ हुन्, ‘बिचौलिया’ हुन् वा कसैको इसारामा नाच्ने पात्र मात्र ? यसको अन्तिम जवाफ अब हिरासतमा रहेका सापकोटाको बयानले मात्र होइन, प्रहरीको अनुसन्धानले दिनेछ ।

प्रतिक्रिया दिनुहोस्