Logo
Logo

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै


567
Shares

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी भगवान् शिवको विशाल मूर्ति निर्माणमा जुटेका छन् ।

The current image has no alternative text. The file name is: shiva-murti.jpg

स्थानीय शिव गौरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले ३३ फिट अग्लो शिवको मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो ।

मूर्ति निर्माण समितिका सचिव जनक साउदले स्वदेश तथा विदेशमा रहेका स्थानीय बासिन्दाबाट चन्दा सहयोग जुटाएर काम भइरहेको बताए। मूर्तिकारसँग रु दुई लाखमा ठेक्का सम्झौता गरी सुरु भएको काम हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए ।

मूर्तिकार प्रेम टमटाले मूर्ति निर्माणको काम धमाधम भइरहेको बताए । अबको एक महिनाभित्रै मूर्तिको सम्पूर्ण काम सक्ने योजना रहेको जानकारी दिए ।

समितिका अध्यक्ष खडकबहादुर साउदले मूर्तिको कुल लागत करिब रु पाँच लाख पुग्ने अनुमान गरिएको र सोहीअनुसार सहयोगका लागि आह्वान गरिएको बताए। निर्माण समितिले रु पाँच हजारभन्दा बढी चन्दा दिने दाताहरूको नाम शिलालेखमा लेख्ने निर्णयसमेत गरेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्