Logo
Logo

डिआइजीसँग स्पष्टीकरण


1.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपति बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सुरेशकुमार श्रेष्ठले अधिकृतहरुलाई गाली गरेको विषयमा सशस्त्र प्रहरी बलले स्पष्टिकरण सोधेको छ । उनले अधिकृतहरुलाई सामेल गराएर मदिरा सेवन गरेर अधिकृतहरूलाई गाली गर्नुको कारणबारे स्पष्टीकरण सोधिएको स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्रेष्ठविरुद्ध परेको उजुरी र गुनासोलाई लिएर कानुन निर्देशनालय प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) युवराज अर्यालले बाहिनीमा कार्यरत अधिकृतहरूलाई ६ बुँदे प्रश्न मार्फत् पछिसम्म फरक नपर्नेगरी सत्य तथ्यसहितको विवरण पेस गर्न भनेका थिए । डिआइजी श्रेष्ठले पनि स्पष्टिकरण बुझाइसकेका छन् ।

०८२ साल मंसिर ११ गते साँझ करिब साढे ५ बजे सशस्त्र प्रहरी अधिकृतहरूलाई सामेल गरी उनीहरूलाई विभिन्न प्रकारका अपशब्द, अश्लील, घर परिवारका मानिस र आमाचकारी गालीगलौज एवं दुव्र्यवहार गरेको आरोप छ ।

मुख्यालयले के, कुन विषयमा केन्द्रित भएर बाहिनीपति श्रेष्ठले कार्यरत अधिकृतहरूलाई ब्रिफिङ गरेको हो ? ब्रिफिङका सम्बन्धमा बाहिनीपतिबाट संगठनको नीतिविपरीत विभिन्न प्रकारका अपशब्द, अश्लील, घर परिवारका मानिस र आमाचकारी गालीगलौज एवं दुव्र्यवहार भएको हो ? ब्रिफिङमा कुन कुन दर्जाका सशस्त्र प्रहरी कर्मचारी सामेली थिए ? भन्नेसहित ६ बुँदे प्रश्न गरेको छ ।

कुनै पनि सशस्त्र प्रहरी अधिकृतबाट कुनै पनि प्रकारको गल्ती भए सशस्त्र प्रहरी नियमावलीबमोजिम विभागीय कारबाही गर्नुपर्नेमा त्यसो नगरी सबै अधिकृतलाई सामेल गरी बिनाकारण झन्डै २० मिनेटसम्म दुव्र्यवहार गरेका थिए । बाहिनीमा कार्यरत सबै सशस्त्र प्रहरी अधिकृतलाई सामेलीमा बोलाई ब्रिफिङ गर्नुपर्नेमा सोसमेत नगरी तथानाम गालीगलौज गर्दा कतिपय अधिकृतहरु अप्ठेरोमा परेका थिए । साथै, महिला प्रहरी कर्मचारीलाई पनि त्यसैगरी गाली गरेको स्रोतले जानएको छ ।

बाहिनीपति श्रेष्ठका स्टाफ अफिसर सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले गर्ने गरेको व्यवहारलाई लिएर पनि सशस्त्र मुख्यालयले जानकारी लिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक राईले बाहिनीपतिले झैँ आफूभन्दा सिनियरलाई निर्देशन दिने गरेको, सम्मानजनक व्यवहार नगर्ने गरेको, बाहिनीपति श्रेष्ठको आडमा चेन अफ कमान्डको समेत उल्लंघन गर्ने गरेको, आफूभन्दा तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीलाई समेत दुव्र्यवहार गर्ने गरेको आरोप छ । उनी विवादित अधिकृत हुन । उनले झापाका एक सईलाई मरानासन्न हुने गरी कुटपीट गरेको समाचार समेत बाहिरिएको थियो । झापा घट्नामा सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बास्तोलालाई निलम्बन गरिएको थियो । उनको निलम्बन एक वर्ष अघि मात्रै फूकुवा गरिएको थियो ।

बाहिनीपति श्रेष्ठविरुद्ध यी विषयमा गृहमन्त्रीलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा उजुरी परेको छ । स्रोतका अनुसार, सशस्त्र मुख्यालयले बाहिनीमा कार्यरत सबै अफिसरलाई मेलमा पत्र पठाई सोको जवाफ दिन भनेको छ । तर आफूहरूले मेलबाट दिने जवाफ रेकर्डेड हुने भएकाले सत्य तथ्य लेख्न नसकिने र आफूहरूले गोप्यरुपमा जवाफ दिन पाउनु पर्ने उनीहरूको माग रहेको छ ।

भावी आइजीपीको दावी गर्ने बाहिनीपति श्रेष्ठ सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका पहिलो नम्बरका डीआईजी हुन् । नम्बर ९ पशुपति बाहिनी मुख्यालय काठमाडौंमा बाहिनीपतिका रूपमा आएपछि उनी विवादै विवादमा मुछिँदै आएका छन् । गत चैत १५ गते भएको दुर्गा प्रसाईंको आन्दोलनमा पनि उनीबाट सुरक्षा व्यवस्थामा गम्भीर चुक भएको थियो ।

यस्तै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पनि आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप पनि उनीमाथि छ । जसबाट सशस्त्र प्रहरीको हतियार लुटिन गएको, गाडीहरू जलेको र सशस्त्रकै भौतिक सम्पत्तिमा क्षति पुग्न गएको थियो । २४ गते भने उनी आफ्नो टोली छाडेर हाफ पेन्ट लगाएर झ्यालबाट भागेको थियो । त्यस दिन भएको जेनजी प्रदर्शनमा हतियार र बन्दोबस्तीका सामान जोगाउन नसकेको भन्दै श्रेष्ठमातहतकै एक डीएसपीलाई पनि कारबाहीको सिफारिस गरिएको छ । आन्तरिक छानबिन गर्न गठित समितिले मिनभवनस्थित तत्कालीन बेसका प्रमुख डीएसपी गौतम कुँवरसहित १३ सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्