काठमाडौं । नाडाको विवाद समाधानको साटो झनै चुलिँदै गएको छ । नाडामा भित्रभित्रै वर्षाँैदेखि भाँडभैलो भएपछि एकथरि व्यापारीहरू नाइमा भन्ने नयाँ संस्था खोलेर त्यसमा आबद्ध भएका छन् । गत वर्ष स्थापनाकालदेखि नै नाइमा सक्रिय छ ।

यता, नाडामा भने अध्यक्ष करण चौधरीका कारण अझै भाँडभैलो जारी छ । यसैबीच, चौधरीले समस्या समाधान नगरी ४९औँ वार्षिक साधारणसभा सम्पन्न गरेर नाडालाई चौधरीले विघटनको संघारमा पु¥याएका छन् ।
कार्यकालको अन्त्यसम्म पनि उनी असन्तुष्ट पक्षलाई पेलेरै अगाडि बढ्ने रणनीतिमा देखिएका छन् । पूर्वअध्यक्ष तथा विपक्षीहरूको सहभागिताबिना नै एकतर्फी रूपमा सम्पन्न सो साधारणसभाले निर्वाचनको मिति घोषणा गरी कार्यातालिका प्रकाशित गरेको छ । तर यसले विवाद समाधान हुने भन्दा पनि विवाद झनै चर्कने देखिएको छ ।
नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पुस २५ गते निर्वाचन मिति तोकिएको छ । तर असन्तुष्ट पक्षले यसमा पनि अदालतमा रिट दायर गर्ने र निर्वाचन नहुने बताइएको छ ।
यसरी साधारणसभाले विवाद मिलाउने भन्दा पनि विवाद बढाउनेतर्फ चौधरी केन्द्रित भएको देखिएको छ । समस्या समाधानउन्मुख नहुँदा अन्ततः संस्था नै ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको छ । अध्यक्ष करण चौधरीले आकाश गोल्छा समूहलाई पूर्व सहमतिअनुसार मिलाएर लैजान नसक्दा समस्या उत्पन्न भएको हो । पूर्वसहमति बमोजिम ४९औँ साधारणसभाबाट आकाश गोल्छालाई अध्यक्ष निर्वाचित गर्नुपर्ने हो । तर विधानबाटै वरिष्ठ उपाध्यक्ष पद खारेज गरेर गोल्छालाई तल झारेपछि विवाद उत्कर्षमा पुगेको हो ।
नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पुस २५ गते निर्वाचन मिति तोकिएको छ । तर असन्तुष्ट पक्षले यसमा पनि अदालतमा रिट दायर गर्ने र निर्वाचन नहुने बताइएको छ ।
विवादै विवादबीच आगामी पुस २५ गते सम्पन्न हुने साधारण सभाबाट वरिष्ठ उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ र सुनिल रिजालमध्ये एकजना अध्यक्ष बन्ने भित्री दौडधुपमा लागेको बुझिएको छ । स्रोतका अनुसार श्रेष्ठले सर्वसम्मत भए मात्र आफूले अध्यक्ष पदका लागि उम्मेदवारी दिने कुरा बताइरहेका छन् भने, सुनिल रिजालले करण चौधरीलाई हातमा लिने प्रयास गरेका छन् ।
४७औँ साधारणसभाबाट चौधरीलाई सर्वसम्मत अध्यक्ष बनाउन उपाध्यक्ष श्रेष्ठले भूमिका खेलेका कारण पनि चौधरी श्रेष्ठको पक्षमा उभिने विश्वास गरेका छन् । अर्को एक स्रोतका अनुसार श्रेष्ठ र रिजालबीच सहमतिको प्रयाससमेत भइरहेको छ । नाडाको ४७औँ साधारणसभामा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेर आकाश गोल्छालाई थुमथुम्याएपछि गोल्छाकै सहमतिमा चौधरी अध्यक्षमा निर्विरोध निर्वाचत भएका थिए ।
चौधरीलाई अध्यक्ष बनाउँदा आकाश गोल्छाले वरिष्ठ उपाध्यक्षमा उधारो सहमति गरेका कारण अहिले धोका भएको हो । त्यो कुरा बुझ्न नसक्दा अहिले आएर गोल्छा अस्तित्व रक्षाको लडाइँमा छन् ।
विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर छलफल गरेको थियो । तर दुई–तीन पटकको छलफल बिना निष्कर्श टुंगिएपछि उनीहरूलाई प्रशासन कार्यालयले मिल्न वा न्यायिक समाधान खोज्न सुझाएको थियो । तर, अध्यक्ष चौधरीले त्यो निर्देशनलाई पनि टेरपुच्छर लगाएनन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाद नसुल्झिँदै विशेष साधारणसभा बोलाएपछि अध्यक्ष चौधरीलाई पत्र काटेको थियो । चौधरीले नाडालाई महासंघ बनाउने भन्दै भदौ २४ का लागि विशेष साधारणसभा बोलाएकोमा असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको थियो ।
जिल्ला प्रशासनले पटकपटक असन्तुष्ट समूहसँग छलफल गरेर विवाद सुल्झाउन निर्देशन दिएपनि चौधरीले एकपक्षीय ढंगले नाडामा काम गर्दै आएका छन् । नाडाको यो विवादको सुरूवात नाडाको ४७औं साधारण सभादेखिको हो । नाडामा साधारणसभामा आपसी समझदारीमा नेतृत्व चयन गरिएको थियो । सोही समयदेखि बल्झिएको विवादले नाडा टुक्रने अवस्थामा पुगेको छ ।
विवादको चुरो कुरा
नाडाको ४७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर गोल्छालाई भाबी अध्यक्ष बनाउने प्रतिबद्धता गरिएको थियो । तर, उक्त प्रतिबद्धता अनुसार विधान संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेपछि गोल्छा सदस्यमा घटुवा भएका थिए । जसलाई चौधरीको चाहना समेत भनिएको थियो । त्यसपछि नाडामा विवाद चर्किएको थियो । नाडा अध्यक्ष चौधरीले कुनै सल्लाह नगरी हठातमा गोल्छालाई सदस्यमा घटुवा गरेका थिए । त्यसपछि यो विवादले लामो रुप लिएको हो ।












