
काठमाडौैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ६४ दलले मात्रै निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
आयोगमा दर्ता भएका एकसय दलमध्ये सोमबार र मंगलबार जम्मा ६४ दलले मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका हुन । आयोगको विवरणअनुसार निर्धारित समयमा २२ वटा दलले समानुपातिकतर्फको सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् भने बाँकी दलले कम्तिमा १० देखि १०१ जनासम्मको बन्दसूची पेश गरेका छन् ।
समानुपातिक प्रणालीतर्फ ६४ वटा राजनीतिक दलबाट तीन हजार चारसय २४ जनाको उम्मदेवारी परेको निर्वाचन आयोगले जनाएको छ । यसपटक ६४ दलले ५८ वटा चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् भने ५४ दल आ–आफ्नो चुनाव चिह्नबाट र १० वटा दल चारवटा चुनाव चिह्नमा निर्वाचन लड्दैछन् ।
एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेकपा संयुक्त, नेकपा, नेपाली जनता दल, जय मातृभूमि पार्टी, नेकपा माओवादी, सार्वभौम पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता दल, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, कांग्रेस बीपी लगायतका दलले समानुपातिक सूची आयोगमा बुझाएका छन् ।
नेपालको संविधान अनुसार प्रतिनिधिसभा कुल २७५ सदस्यीय हुन्छ । जसमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको संख्या ११० हुन्छ भने प्रत्यक्षतर्फ १६५ हुन्छ ।












