Logo
Logo

कांग्रेस र एमाले मिलेर निर्वाचनमा जानुपर्छ : बादल थापा


819
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट सङ्ख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: badal-thapa-2.jpg

मङ्गलवार काठमाडौंमा मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एमाले-कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले मुलुक सङ्कटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस-एमालेले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुने थापाले बताए । 

उनले भने, ‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्न सक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधीनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ ।’

अविलम्ब दुवै दलले अबको लोकतन्त्रलाई पुनर्स्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरू सुविचारित ढंगले निश्चित गर्न जरुरी रहेको थापाको भनाइ रहेको छ । 

उपाध्यक्ष थापाले संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने तर्क गरे ।

‘नयाँ संसद पुनःस्थापना गरेर होस् वा विघटित संसद लाई पुनःस्थापना गरेर होस् । यो दुई वटा बोटाबाट हामी अगाडि बढ्न सक्छौँ ‘ उनले भने, ‘नयाँ संसद्मा वामपन्थी लोकतन्त्रवादी शक्तिहरूको वर्चस्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौँ ।’

उपाध्यक्ष थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भीर सङ्कटमा फसेको जिकिर गर्दै त्यसको निदान कांग्रेस र एमालेले मिलेर मात्रै दिन सक्ने समेत तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्