भैरहवा । नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण उपाधि विजेता टोली लुम्बिनी लायन्सले आयोजना गरेको १५ दिने ‘ट्रफी सेलिब्रेसन टुर’ का क्रममा सो ट्रफी आज भैरहवा ल्याइएको छ ।

बाँकेको नेपालगञ्जबाट पुस ५ गतेदेखि सुरु भएको यो ‘टुर’ बर्दिया र दाङको तुलसीपुरबाट बर्दघाट हुँदै भैरहवामा ल्याइएको हो । भैरहवा अघि ट्रफिलाई बुद्ध जन्मस्थल लुम्बिनी पु¥याइएको थियो ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीका अनुसार यो टुर प्रदेशका हरेक नागरिकलाई खुसी बाँड्न आयोजना गरिएको हो । उनले पहिलो संस्करणमा सरोकारवालासँग सहकार्य गर्न नसकेको बताउँदै सबै क्रिकेट सङ्घ र अन्य सङ्घ संस्थाको माया सराहनीय रहेको बताए।
“सबैको विश्वास, समर्थन, माया र सुझावको कारण हामी च्याम्पियन हुन सक्यौँ,” उनले भने, “यो ट्रफी तपाईँको माझमा ल्याउने हामीले मौका पायौँ, यसको सम्पूर्ण श्रेय तपाईँहरूमा नै जान्छ ।”
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आफूले घोषणा गरेको ११ लाखको पुरस्कार रकम छिट्टै अर्को कार्यक्रम गरी विजेता टोलीलाई प्रदान गर्ने बताए । “मलाई ट्रफी लुम्बिनीले नै ल्याउँछ भन्ने भान थियो, यसैले सुरुमा पाँच लाख घोषणा गरेको थियो, पछि खेलाडीको उत्साह बढाउन यसलाई बढाएर ११ लाख पुर्याएँ,” मन्त्री पाण्डेले भन्नुभयो, “छिट्टै यसै मैदानमा अर्को कार्यक्रम गरी उक्त रकम प्रदान गर्नेछु ।”
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँन, उपप्रमुख उमा अधिकारी, रूपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले लुम्बिनी लायन्सले सम्पूर्ण प्रदेशकै सम्मान बढाएको बताए ।
‘ट्रफी टुर’ को क्रममा मस्कट र च्याम्पियनसिपको ब्यानर, भ्यानका अघि उभिएर फोटो खिचाउनेहरूको भीड लागेको थियो । यो ट्रफी भैरहवाबाट क्रिकेट टोलीको ‘होम ग्राउण्ड एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्ड’मा विशेष उत्सवका लागि लगिनेछ ।












