काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राजनीतिमा केवल उमेरले युवा भएर मात्र नहुने बताएकी छन् ।

मङ्गलवार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै डंगोलले राजनीति गर्नका लागि उमेर समूहभन्दा पनि ज्ञान, सीप र स्पष्ट दृष्टिकोण आवश्यक पर्ने बताएकी हुन् ।
डंगोलले राजनीतिलाई केवल उमेर समूहका रूपमा बुझ्न नहुने बताइन् । उनले भनिन्, ‘राजनीतिमा आउनका लागि ज्ञान चाहिन्छ, सोही अनुसारको विज्ञता चाहिन्छ, सीप चाहिन्छ र महत्त्वपूर्ण कुरा ऊर्जा चाहिन्छ। उमेरले मात्र युवा भएको कारणले गर्दा ज्ञान, सीप र नेतृत्वदायी क्षमता छैन भने त्यसको कुनै अर्थ रहँदैन ।’
उनले जुनसुकै उमेर समूहको भए पनि देशका लागि निरन्तर योगदान दिने ऊर्जा र क्षमता हुनुपर्नेमा जोड दिइन् । पछिल्लो समय राजनीतिमा उठिरहेको पुस्तान्तरणको बहसबारे टिप्पणी गर्दै डंगोलले एउटा पुस्ताले अर्को पुस्तालाई अंश दिएजस्तो पद हस्तान्तरण गर्नु मात्र पुस्तान्तरण नभएको स्पष्ट पारिन् ।
‘आमा९बुवाले छोराछोरीलाई अंश दिएजस्तो दिने कुरालाई हामीले पुस्तान्तरण मान्न सक्दैनौं,’ डंगोलले भनिन्, ‘६० वर्षको उमेरको मान्छेले २० वर्षको मान्छेलाई ‘ल मैले ठाउँ छोडेँ तिमी आऊ’ भन्नु मात्र पुस्तान्तरण होइन। पुस्तान्तरण हुनका लागि त्यहाँ ज्ञान, सीप, सूचना, विचार र सिद्धान्तको ट्रान्सफर हुनु जरुरी छ।’












