
काठमाडौं । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
मन्त्रिपरिषद् विस्तारसँगै मधेश प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ । मुख्यमन्त्री यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।












