Logo
Logo

सुपारी तस्करीमा प्रहरीको निगरानी, सौरभ ग्रुपमाथि तस्करीको आशंका


882
Shares


काठमाडौं । पुसको पहिलो साता नटेक्दै प्रहरीले वीरगन्ज नाकालाई निगरानीमा राख्यो । जिल्ला प्रहरी कार्यालय पर्सालाई आएको एउटा सूचनाले वीरगन्ज नाकालाई निगरानीमा राख्न बाध्य बनाएको थियो ।

वीरगन्ज नाकालाई छलेर सुपारी बोकेका ट्रक महोत्तरी हुँदै झापा जाने र झापा जाने र झापा पुगेर काकडभिट्टाबाट तस्करी हुने गरेको सूचना प्रहरीसँग थियो । त्यसकै आधारमा निगरानी बढाउदा दुई वटा ट्रक फेला पारेको थियो ।

प्रहरीले दुई वटा ट्रकमा भएको सामान बामद गर्दा नेपालमा नाममात्रको उद्योग खडा गरेर सुपारी तस्करी भइरहेको देखिएको थियो । कागजमा उद्योग राख्ने र आयात गरेर सम्बन्धित स्थानमा नपु¥याइ बीचमै पल्टी गरेर तस्करी गर्ने गरेको देखिएको थियो ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास रोडबाट अवैध रूपमा लोड–अनलोड भइरहेको ठूलो परिमाणको सुपारी बरामद ग¥यो । प्रहरीले ४ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको सुपारी यही पुस ३ गते नियन्त्रणमा लिएको थियो ।

सुपारी आयात गरेर प्रशोधन गर्ने भन्दै २०८१ असोज १३ गते महोत्तरी बर्दिबास ठेगाना राखेर ‘ओम साई प्रोडक्ट प्रालि’ उद्योगमा दर्ता भएको देखियो । तर उद्योग भनिएको उक्त संरचना हेर्दा बाख्रापालनसमेत गर्न नमिल्ने अवस्था देखिएपछि नेपालमा नाम मात्राको उद्योग बनाएर तस्करी भएको स्पष्ट भएको थियो ।

उद्योग विभागले उद्योग भए–नभएको र प्रशोधन गर्न सक्ने अवस्था छ छैन भन्ने यकिन नगरी निरीक्षणबिना दर्ता गरिदिएको थियो । जसमा ठूलै आर्थिक चलखेल भएको आशंका गरिएको छ । साथै सुपारी आयातका लागि उद्योग विभागबाट वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस जान्छ । विभागका तत्कालीन महानिर्देशक कुमार दाहालले २०८२ जेठको पहिलो साता ५४ हजार किलो सुपारी आयातका लागि अनुमति दिएका थिए ।

पर्सामा बरामद भएको सुपारी कसको हो भन्ने अहिले खुल्न सकेको छैन । यद्यपि, सौरभ ग्रुप यसको हकदार आशंका गरिएको छ । यो समूह नेपालमा पान मसला सुपारी निर्यातदेखि कर छलीको विवादमा समेत मुछिएको छ । कर छलीमा पनि मुछिएको समूह हो । पान मसलाको उद्योग वीरगन्जमा भएका कारण सो समूहमाथि सरकारी आँखा परेको हो ।

२०६८ सालमा विदेशी लगानी गर्ने अनुमति पाएपछि पर्साको रामगढमा पान मसला, गुट्खा, स्विट सुपारी उत्पादन गर्नश्री मीनाक्षी प्रडक्ट नेपाल प्रालि दर्ता गरेको छ । साढे ४ करोड रुपैयाँ लगानी गरी स्थापना भएको यो कम्पनीबारेखोजी गर्दै जाँदा यो पनि विवादमा मुछिएको थियो । २०७४ साउनमाफोहोरमैला गरेको भनेर स्थानीयले चर्को विरोध गरेका थिए भने कर छली विवादमा यो कम्पनी पनि मुछिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार २०६९ सालमा छापा मार्दा यो कम्पनीले ५४ लाख ९६ हजार २०० रुपैयाँ कर छली गरेको फेला परेको थियो । उद्योग स्थापनाका लागि पर्साको रामगढ भन्ने ठाउँमा अनुमति लिएपनि वीरगञ्ज पावर हाउस नजिकैको बस्तीको बीचमा उद्योग सञ्चालन गरेको थियो ।

जबकि, औद्योगिक व्यवसाय ऐनअनुसार अनुमति लिएकै स्थानमा उद्योग स्थापना गर्नुपर्ने, कारणवश सार्नुपरेमा अर्को अनुमति लिनुपर्ने व्यवस्था छ । यसो नगरी कानूनको उल्लंघन गरेको र दुुर्गन्ध फैलाएर सर्वसाधारणलाई सास्ती दिएको भनेर स्थानीयले चर्को विरोध गरेका थिए । त्यही उद्योगका लागि सो सुपारी ल्याइएको आशंका गरिएको छ ।

छ महिनाभित्र सुपारी आयात गर्नका लागि पाएको अनुमतिअनुसार समय सकिनु केही दिन अगाडिमात्रै सुपारी वीरगञ्ज भन्सार नाकाबाट पास भएको हो । तर वीरगञ्ज नाकाबाट पास भएर उद्योग भएको ठाउँमा जानुपर्ने सुपारी बीचबाट नै भारत पठाउन लागिएको आशंकामा प्रहरीले रोकिदियो ।

वीरगञ्ज नाकाबाट पास भएको तीन किलोमिटरकै दुरीमा ट्रक रोकेर शिल तोडी अर्को ट्रकमा सार्ने काम भइरहँदा प्रहरीले रोकिदिएको हो । त्यस्ता दुईवटा ट्रकमध्ये एउटा ट्रकमा रहेको ४ सय ५० बोरा सुपारीमध्ये ७० बोरा झारिसकिएको थियो । त्यहीँ पहिले नै झारिएको ९ सय ५० बोरा सुपारीसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो । १९ सय बोरा सुपारीसहित प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैयामा ट्रक जिम्मा लगायो ।

‘प्रहरीले फेला पारेको कागज हेर्दा भन्सारबाटै आएको देखिन्छ’, पर्साका एसपी सुदीप पाठकले भने । उनले कागजात हेर्दा वीरगञ्ज भन्सारबाट पास भएर महोत्तरीमा पुग्ने भनेर लेखिएको थियो । भन्सारमा शिल्ड भएपछि अन्तिम गन्तव्यमा गएर खोल्नुपर्नेमा दुई ट्रकमध्ये एउटा ट्रक खोलेर सुपारी निकालेको सूचनापछि प्रहरीले हेरेको थियो । प्रहरीले भित्र गोदाममा हेर्दा पनि ९ सय बोरा राखिएको देखिएको थियो । प्रहरीले यसको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धानलाई दिएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले अनुसन्धान गर्ने एसपी पाठकको भनाइ थियो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार सुपारी झापाबाट भारततर्फ जान लागेको हो । झापाको काकडभिट्टा पनि सुपारी तस्करीका लागि चर्चित नाका हो । झापामा अहिले एसपी राजन लिम्बू रहेका छन् भने काँकडभिट्टामा राजन लामा रहेका छन् । सशस्त्र प्रहरी पनि यसका लागि चनाखो बन्ने गरेको स्रोतको दाबी छ ।

भन्सारबाट पास भएको सुपारी बोकेको ट्रक कानूनतः उद्योग परिसरमा पुगेपछि मात्रै शिल तोड्नु पर्छ । प्रशोधन उद्योग कागजमा मात्रै रहेका कारण तस्करीका लागि बीचबाटोमा नै सुपारी पल्टी गरिएको शंकासहित अहिले राजस्व अनुसन्धान विभागले पनि छानबीन गरिरहेको छ । प्रहरीले सुपारी लोड भएको ट्रकलाई नियन्त्रणमा लिएपछि व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

मलेसियाबाट आयात गरिएको र वीरगञ्ज भन्सारबाट मापदण्डअनुरुप राजस्व दाखिला गरी आयात भएको सुपारीलाई अवैध भनिएको भन्दै उद्योगीले आपत्ति जनाएका हुन् । तर नाममात्रको उद्योग दर्ता गरेर भनिएको ठाउँसम्म आयात भएको सुपारी नलगिएको विषयमा भने व्यवशायीहरु मौन रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार सुपारी झारिएको स्थानमा गोदाम दर्तासमेत गरेका छैनन ।

विभाग स्रोतले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानबाट सुपारी तस्करले डमी व्यक्ति खडा गरेर उद्योग दर्ता गरिएको देखिएको छ । नाममात्रको उद्योग भने युवराज पराजुलीको नाममा दर्ता भएको स्रोतले जनाएको छ । सुपारी झारिएको ठाउँमा रहेको गोदाम काठमाडौंका निशान्त लुनावट जैनको नाममा रहेको देखिएको छ । प्रहरी स्रोतका अनुसार जैन सुपारीजस्ता वस्तुको अवैध कारोबारमा संलग्न रहेको पुरानो रेकर्डसमेत छ । जैन समूहले सुपारीको कारोवार गरिरहेको पनि स्रोतको दाबी छ ।

व्यवसायीहरूका अनुसार नेपालमा बर्सेनि ३७ हजार मेट्रिकटनको हाराहारीमा सुपारी खपत हुन्छ । नेपालमा वार्षिक १३ हजार मेट्रिकटन हारीहारीमामात्र उत्पादन हुन्छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १ अर्ब ४ करोड ४२ लाख ७१ हजार रुपैयाँको ६७ लाख किलो सुपारी आयात भएको थियो । त्यस्तै २०७९/८० मा १ अर्ब ४९ करोड रुपैयाँको आयात भएको थियो ।

२०८२/८३ को पाँच महिनामा ६१ करोड रुपैयाँको सुपारी आयात भएको तथ्यांक देखिन्छ । तेस्रो मुलुकबाट सेटिङमा नेपाल आयात हुने सुपारी भारततर्फ नै निकासी हुने गरेको छ । कागजात वैध देखिए पनि सुपारीलाई गन्तव्यमा नपठाइ गोदाममा राख्ने र अवैध रूपमा भारत पठाउने काम भइरहेका हुन्छन् । बेलाबेला कतिपय राजस्व छली तथा यस्ता तस्करीको जालो उजागर भइरहेको छ । विगतमा सुपारीको कारोबार खुलेआम थियो । भारतीय व्यापारीहरू खरिदका लागि आउँथे । भन्सार नाकाबाटै खुलेआम लैजाने गरेका थिए ।

सुपारीको व्यापार हुने काँकडभिट्टाको एउटा क्षेत्रको नाम अहिले पनि ‘सुपारी लाइन’ छ । नेपालले त्यो बेलादेखि नै इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया र सिंगापुर आदि मुलुकबाट सुपारी पैठारी गर्दै आएको थियो । अहिले बरामद भएको सुपारी पल्टी गरेर त्यहीबाट भारत छिराउन खोजिएको आशंका गरिएको छ । सुपारी तस्करीमा राज्यद्वारा संरक्षित व्यापारी, बिचौलिया रहेको तथ्य धेरैपटक बाहिरिँदा पनि ‘सेटिङ’ नभत्कनु दुःखको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्