काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपा र राप्रपा नेपालबीच भएको एकतापछि आफूहरूले अघि सारेका एजेन्डा स्थापित हुन अब धेरै समय नलाग्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले अहिले नै अनुकूल समय आएको भन्दै एकताले राजनीतिक यात्रालाई निर्णायक मोडमा पुर्याएको बताए ।
“यी दुई पार्टी एक भएर अघि बढेपछि हाम्रो एजेन्डा स्थापित हुन अब ढिला हुँदैन । समय नजिक आइसकेको छ,” तामाङले भने । उनले एकता प्रक्रियामा सहभागी भएका पूर्वअध्यक्ष कमल थापाको खुलेर प्रशंसा गर्दै आफू देशका विभिन्न स्थानमा जाँदा थापाबारे जनस्तरमा हुने चर्चा सुनिने गरेको बताए ।
“राप्रपा र राप्रपा नेपाल अलग–अलग हुँदा पनि ठाउँ–ठाउँमा ‘क्षेत्रीको छोरा भनेको त कमल थापा नै रहेछ’ भनेर मानिसहरूले भन्ने गर्थे,” उनले भने, “यस्तो अवस्थामा पनि राजा र हिन्दूराष्ट्रको एजेन्डा बोकेर पार्टीलाई यहाँसम्म पुर्याएको भन्दै प्रशंसा सुनिन्थ्यो ।”
तामाङका अनुसार आफूहरूले उठाउँदै आएको एजेन्डाबारे अहिले पुराना दलका नेताहरूले समेत ‘ठिकै रहेछ’ भन्ने निष्कर्षमा पुग्न थालेका छन् ।
“२३ र २४ गतेका घटनापछि हामीले बोकेको एजेन्डा के हो भन्ने सबैले बुझ्न थालेका छन् । संस्थालाई एउटा अभिभावक आवश्यक पर्ने रहेछ भन्ने महसुस भएको छ,” उनले भने, “छातीमा हात राखेर भन्नुपर्दा, अन्य पार्टीका नेताहरूले पनि अब राजधानीबाट भाग्नुपर्ने अवस्था छैन भन्ने अनुभूति गरेका छन् । यद्यपि, त्यो कुरा उनीहरूले खुलेर स्वीकार गरेका छैनन् ।”












