Logo
Logo

५ प्रदेश सांसद र ८ स्थानीय तहका पदाधिकारीले मतदान गर्न नपाउने


1k
Shares

काठमाडौं । आगामी राष्ट्रिय सभाको निर्वाचनमा पाँच जना प्रदेशसभा सदस्य र आठ जना स्थानीय तहका पदाधिकारीले मतदान गर्न नपाउने भएका छन् ।

The current image has no alternative text. The file name is: Nirbachan-Ayog-1.jpg

निर्वाचन आयोगका अनुसार पदमुक्त, निधन भएका तथा निलम्बनमा परेका व्यक्तिहरूको नाम प्रारम्भिक मतदाता नामावलीमा समावेश गरिएको छैन । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक मतदाता नामावली स्वीकृत भइसकेको जानकारी दिएका छन् ।

स्वीकृत नामावलीअनुसार प्रदेशसभा सदस्यतर्फ अदालतको आदेशबाट पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी पाँच जनाको नाम हटाइएको छ। यस्तै, स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी आठ जनाको नाम पनि नामावलीमा छैन।

कानुनअनुसार राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुख मतदाता हुन्छन्। आगामी माघ ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य ५४५ जना र स्थानीय तहका पदाधिकारी १,४९८ जना गरी कुल २,०४३ जनाले मतदान गर्नेछन् ।

राष्ट्रिय सभा निर्वाचन प्रक्रिया पुस १९ गतेदेखि सुरु हुँदैछ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमार्फत १८ जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन्, जसको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्