काठमाडौँ । चीनले घट्दो जन्मदर नियन्त्रण गर्न आजदेखि नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । दशकौँसम्म एक सन्तान नीति लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा जनसङ्ख्या ऋणात्मक बन्दै गएपछि सरकारले जन्मदर वृद्धि गर्न विभिन्न प्रोत्साहनात्मक कार्यक्रमहरू अघि सार्दै आएको छ । यही सिलसिलामा आजदेखि नयाँ योजना लागू गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार चिनियाँ नागरिकले कन्डमसहित विभिन्न गर्भनिरोधक सामग्री खरिद गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्नेछ । यसका साथै सरकारले बालबालिकाको हेरचाहसम्बन्धी खर्चमा कर छुट दिने व्यवस्था गरेको छ। युवा पपुलेशन रिसर्च इन्स्टिट्यूटको सन् २०२४ को प्रतिवेदनअनुसार बच्चा हुर्काउन विश्वकै महँगो देशहरूमध्ये चीन एक हो ।
यसैबीच, अभिभावक बिदा अवधि विस्तार, नवजात शिशुका अभिभावकलाई नगद सहायता प्रदान गर्ने कार्यक्रमजस्ता प्रोत्साहनात्मक उपायहरू पनि योजनामा समावेश गरिएको बीबीसीले जनाएको छ ।
जन्मदर बढाउने उद्देश्यसहित चीनले आजदेखि विवाहसँग सम्बन्धित सेवाहरूमा पनि मूल्य अभिवृद्धि कर छुट दिने निर्णय गरेको छ । बुढ्यौली जनसङ्ख्याको चाप बढ्दै गएपछि चीन सरकारले युवाहरूलाई विवाह गर्न र दम्पतीहरूलाई सन्तान जन्माउन प्रेरित गर्ने प्रयास तीव्र पारेको छ ।
हाल चीनमा युवा जोडीहरू कम सन्तान जन्माउने वा सन्तान नजन्माउने प्रवृत्ति बढ्दो छ । चीनको जनसङ्ख्या लगातार तीन वर्षदेखि ऋणात्मक रहेको छ । सन् २०२४ मा चीनमा ९५ लाख ४० हजार बालबालिका जन्मिएका थिए, जुन सङ्ख्या एक दशकअघिको तुलनामा झन्डै आधा हो ।












