काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै पनि परिस्थितिमा कमजोर वा अस्थायी शान्ति सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

नयाँ बर्षको शुभकामना सन्देश दिदै जेलेन्स्कीले आफुले युद्ध अन्त्य गर्न चाहेको तर आत्मसमर्पण स्वीकार नगर्ने स्पष्ट गरेका हुन् । आफ्नो सम्बोधनमा जेलेन्स्कीले लगभग चार वर्षको युद्धले युक्रेनीहरूलाई थकित बनाएको छ तर थकान भनेको हार वा आत्मसमर्पण नभएको बताएका छन । उनले उनी केवल त्यस्तो सम्झौतामा हस्ताक्षर गर्नेछन् जुन बलियो होस् र युक्रेनमा दीर्घकालीन शान्ति ल्याउन सक्छ ।
जेलेन्स्कीले शान्ति सम्झौता लगभग ९० प्रतिशत तयार रहेको बताउदै युक्रेनी क्षेत्रको नियन्त्रण र जनताको सुरक्षाको ग्यारेन्टी सम्बन्धी सम्झौता १० प्रतिशत बाँकी रहेको बताए । युक्रेनले हालको सीमानाहरू रहिरहोस् भन्ने चाहन्छ, जबकि रूस डोनबास र अन्य दक्षिणपूर्वी क्षेत्रहरूमा थप नियन्त्रण चाहेको छ ।












