Logo
Logo

कांग्रेसमा महाधिवेशनको ‘महासंग्राम’: नियमित कि विशेष भन्नेमै वारपारको लडाइँ


1.2k
Shares

काठमाडौँ । नियमित कि विशेष महाधिवेशन भन्ने प्रश्नमै सर्वस्वीकार्य सहमति जुट्न नसक्दा नेपाली कांग्रेसको आन्तरिक द्वन्द्व थप जटिल र उत्कर्षतर्फ उन्मुख भएको छ।

सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीचको शक्ति–संघर्षका कारण शुक्रवार दिनभर पार्टीका शीर्ष नेताहरू छलफल, संवाद र आन्तरिक समन्वयमा व्यस्त देखिए। यद्यपि, दुवै पक्षलाई स्वीकार्य हुने साझा सहमति कायम हुन नसक्दा कांग्रेसभित्रको विवाद अन्ततः विभाजनतर्फ उन्मुख त हुँदैन भन्ने गम्भीर आशंका उब्जिएको छ।

बिहीवार नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन घोषणा गरिएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वयमध्ये गगन थापा राजनीतिक प्रतिवेदन तयार पार्ने उद्देश्यसहित धुलिखेल प्रस्थान गरे। तर, त्यही समयमा शुक्रवार बिहानदेखि नै ‘संस्थापन पक्ष’ भनेर चिनिने सभापति देउवा निकट समूहले आफ्नो राजनीतिक सक्रियता तीव्र पारेको देखियो।

पार्टीका २५ केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेट गरी विद्यमान विवाद समाधानका लागि पहल गर्न आग्रह गरे। जवाफमा देउवाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै चिन्तित केन्द्रीय सदस्यहरूलाई सान्त्वना दिएका थिए।

उता, विशेष महाधिवेशन पक्षधर समूहले शुक्रवार बिहानै अनामनगरमा पत्रकार सम्मेलन आयोजना गरी विशेष महाधिवेशनको माग सार्वजनिक गर्‍यो। उनीहरूले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब दिनुका साथै, विशेष महाधिवेशन पार्टीको वैधानिक अधिकार भएको दाबी समेत गरे।

यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो राजनीतिक सक्रियता बढाए। दिउँसो बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि नै उनले देउवा पक्षका नेताहरूसँग घनिभूत छलफल गरे। महामन्त्रीद्वयले घोषणा गरेको विशेष महाधिवेशनको प्रस्तावलाई काउन्टर दिने रणनीतिसहित आफ्नो समूह तयार भएपछि खड्का स्वयं सानेपा स्थित केन्द्रीय पार्टी कार्यालय पुगेर कार्यसम्पादन समितिको बैठकमा सहभागी भए।

बैठकमा कार्यवाहक सभापति खड्काले आगामी वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरे। बैठक चलिरहेकै क्रममा बाहिर निस्किएका नेता विमलेन्द्र निधिले सञ्चारकर्मीलाई खड्काले प्रस्ताव गरेको महाधिवेशन मितिबारे जानकारी गराए।

त्यसै बैठकले केन्द्रीय कार्यसमितिको म्याद पनि थप गरेको छ। कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्मका लागि विस्तार गरिएको हो। यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म म्याद थप गरेको थियो। बैठकपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता प्रकाशमान सिंह महतले पुसमै प्रस्ताव गरिएको १५औँ महाधिवेशन विभिन्न व्यावहारिक समस्याका कारण सम्पन्न हुन नसकेको उल्लेख गर्दै, परिमार्जित कार्यतालिकासहित नयाँ मिति पारित गरिएको जानकारी दिए। उनका अनुसार बहुमत सदस्यको समर्थनमा वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने निर्णय पारित भएको हो।

गगन थापाको असन्तुष्टि

१५औँ महाधिवेशन वैशाखमा गर्ने निर्णय पारित भएपछि महामन्त्री गगन थापाले उक्त निर्णयप्रति असहमति जनाएका छन्। पार्टी विधानअनुसार पुस मसान्तभित्रै विशेष महाधिवेशन हुनुपर्ने उनको दाबी छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिको निर्णयबाट हुने कि पार्टी केन्द्रको आह्वानअनुसार हुने भन्ने विषय दुई–तीन दिनभित्रै टुंगो लाग्ने बताए।

पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी व्यवस्था रहेको उल्लेख गर्दै उनले शुक्रवारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्