Logo
Logo

रास्वपाको १५१ सिट जित्छ, अब २१ बाट सिधै बहुमत पुर्‍याउँछौँ : स्वर्णिम वाग्ले


1.5k
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले १५१ सिट जित्ने दाबी गरेका छन् । पोखरामा शनिवार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले रास्वपा अब सानो सङ्ख्यामा खुम्चिएर कसैको ‘म्याजिक नम्बर’ वा सत्ताको वैशाखी बन्ने पक्षमा नरहेको बताए । 

The current image has no alternative text. The file name is: Swarnim-Wagle.jpg

उनले २१ सिटबाट ५०–६० सिटमा पुगेर चित्त बुझाउनु पार्टीका लागि सहज बाटो भए पनि देशको अस्थिरता अन्त्य गर्न पूर्ण बहुमत नै अपरिहार्य रहेको बताए। ‘५०–६० सिट ल्याएर सरकारमा च्याखे थाप्ने वा म्याजिक नम्बरको खेलमा लाग्ने हाम्रो बाटो होइन,’ उनले भने, ‘अबको हाम्रो सङ्कल्प २१ बाट एकैपटक १५१ सिटको हो। यो चानचुने कुरा होइन, तर मुलुकलाई निर्णायक धक्का दिन बहुमत आवश्यक छ।’

संसद्मा २१ जना सांसदको सानो समूह भए पनि रास्वपाले ठूला दलको अहंकारलाई चुनौती दिएको उनले स्मरण गरे। दुई तिहाइको दम्भले रास्वपालाई भित्तामा पुर्‍याउने प्रयास गरिएको र लोकतान्त्रिक संस्कार बोकेका आफूहरूलाई संसद् बहिष्कार गर्नुपर्ने स्थितिमा पुर्‍याइएको गुनासो उनले पोखे । 

विगत ३५ वर्षदेखि कांग्रेस, एमाले र माओवादीले पाएको अवसरलाई दुरुपयोग गरेको टिप्पणी गर्दै वाग्लेले पुराना दलहरूको असफलताले गर्दा नै जनताले रास्वपालाई विकल्पका रूपमा हेरेको दाबी गरे ।

उनले आगामी निर्वाचनपछि रास्वपाले मुलुकको बागडोर सम्हाल्ने र उन्नत राजनीतिको अभ्यास सुरु गर्ने बताए । जेनजी आन्दोलन र वैकल्पिक शक्तिको लहरका कारण जनताले यसपटक रास्वपालाई भारी बहुमत दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्