काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रहरूसँग घरेलु द्विपक्षीय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शनिवार सन् २०२६ को वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् ।

क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार, नेपालले मार्च १० देखि २५ सम्म ओमान र यूएईसँग तथा मे ५ देखि १८ सम्म अमेरिका र स्कटल्यान्डसँग आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका दुई शृङ्खला आयोजना गर्दै छ । यी लिग-२ शृङ्खलाहरूको अगाडि र पछाडि नेपालले कम्तीमा दुई टेस्ट राष्ट्रहरूलाई घरेलु मैदानमा बोलाएर एकदिवसीय शृङ्खला खेलाउने तयारीमा छ । ‘हामी विभिन्न टेस्ट राष्ट्रहरूसँग समन्वय गरिरहेका छौँ,’ पारस खड्काले पत्रकार सम्मेलनमा भने, ‘कुनै एक टेस्ट राष्ट्र मात्र होइन, वर्षाको सुरुवात हुनुअघि कम्तीमा दुई टेस्ट राष्ट्रसँग घरेलु एकदिवसीय शृङ्खला खेलाउने प्रयास गरिरहेका छौँ । क्रिकेट विश्वकप लिग-२ सुरु हुनुअघि र समाप्त भएपछि दुईवटा द्विपक्षीय एकदिवसीय शृङ्खला हुनेछन् ।’
उनले कुन–कुन टेस्ट राष्ट्रहरू आउने भन्नेमा भने स्पष्ट जानकारी दिएनन् । हाल नेपाल लिग–२ मा २० खेलबाट मात्र १२ अङ्क जोडेर आठ राष्ट्रमध्ये सातौँ स्थानमा छ । यसले गर्दा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोखिममा परेको छ । आगामी यी दुई घरेलु शृंखलाले नेपालको ओडीआई भविष्य निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।
यसबाहेक, सन् २०२६ को जनवरीमा नेपालले महिला टी-२० विश्वकप ग्लोबल छनोट आयोजना गर्दै छ । यो १० राष्ट्र सहभागी प्रतियोगितामा नेपाली महिला टोली व्यस्त रहनेछ भने पुरुष टोली फेब्रुअरीमा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपको तयारीमा जुट्नेछ । टी-२० विश्वकप तयारीको योजना १–२ दिनभित्रै सार्वजनिक हुने र श्रीलङ्कामा विशेष क्याम्पको सम्भावना रहेको पारस खड्काले बताए । त्यस्तै, सन् २०२७ मा बङ्गलादेशसँग मिलेर नेपालले आईसीसी यू-१९ विश्वकप आयोजना गर्दै छ । यसलाई लक्षित गरी क्यानले क्यालेन्डरमा विशेष प्राथमिकता दिएको छ ।
अप्रिलमा यू–१९ महिलाको त्रिकोणात्मक शृङ्खला तथा सेप्टेम्बरमा यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना हुने क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । यो व्यस्त क्यालेन्डरले नेपाली क्रिकेटलाई घरेलु र अन्तर्राष्ट्रिय दुवै स्तरमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।












