Logo
Logo

बजारमा नक्कली नोट, कसरी चिन्ने सक्कली ? 


819
Shares

काठमाडौं । काठमाडौंस्थित बौद्ध क्षेत्रको एक जुत्ता तथा मोजाको पसलमा नक्कली नोट प्रयोग भएको घटनाले प्रहरीलाई ठूलो सफलता दिलाएको छ । सो पसलमा १४ हजार ५०० रुपैयाँको बिल तिर्न ग्राहकले १५ वटा हजारका नोट दिएका थिए । पसलेले ५ सय रुपैयाँ फिर्ता दिएपछि केही समयमा ती नोट नक्कली भएको शङ्का लाग्यो । उनले तुरुन्त प्रहरीलाई सूचना दिए । 

प्रहरीले नोट जाँच्दा नक्कली पुष्टि भएपछि सीसीटीभी फुटेजको सहायतामा अनुसन्धान अघि बढायो । क्रेताले सामान लिएर नजिकैको गाडीमा चढेको देखिएपछि ट्रयाकिङ गर्दै प्रहरीले बुधवार साँझ काठमाण्डूको उत्तरपूर्वी भेगबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो । 

पक्राउ परेकाहरू नक्कली नोट कारोबारमा संलग्न देखिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबाट ९३ हजार रुपैयाँ मूल्य अङ्कित नक्कली नोट बरामद गरेको छ ।

चालु आर्थिक वर्षमा मात्रै नक्कली नोटसम्बन्धी ३५ मुद्दामा ६५ जना पक्राउ परिसकेका छन् । विगत पाँच आर्थिक वर्षमा यस्ता मुद्दा २५७ पुगेका छन् । नेपाली रुपैयाँबाहेक भारतीय र अमेरिकी डलरका नक्कली नोट पनि फेला पर्ने क्रम बढ्दो छ । 

नक्कली नोट कसरी चिन्ने 

प्रहरीले नक्कली नोट पत्ता लगाउन सादा पोसाकका प्रहरीको गस्ती, पसले तथा सचेत नागरिकबाट प्राप्त सूचना र राष्ट्र बैंकसँगको समन्वयलाई मुख्य आधार बनाउँछ । राष्ट्र बैङ्कले नोटमा उठेको प्रिन्ट, रङ परिवर्तन हुने कुबेरको आकृति, सुरक्षा धागो, ३डी विशेषता, दृष्टिविहीनका लागि उठेका गोलाकार थोप्ला जस्ता फिचरहरू राखेको छ । शङ्का लागेमा नोटलाई हेरेर, छोएर, टिल्ट गरेर तथा यूभी लाइटमा जाँच्न सकिन्छ । 

हजारको नोट चिन्ने तरिका

नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट(टर्च लाइटरमोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

 ५०० को नोट चिन्ने तरिका

नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट(टर्च लाइटरमोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा पाटे बाघ भएको भाग) दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

प्रहरीका अनुसार नक्कली नोट प्रायः मेसिनबाट छापिन्छन् । एकपटक झापामा यस्तै पोर्टेबल मेसिन बरामद भएको थियो । खुला सीमानाका कारण भारतबाट पनि नक्कली नोट भित्रिने गरेको अनुमान गरिएको छ । दक्षिणी सीमा क्षेत्रमा नेपाली र भारतीय नागरिकहरू नक्कली नोटसहित पक्राउ पर्ने क्रम जारी छ । 

प्रतिक्रिया दिनुहोस्