Logo
Logo

अख्तियार प्रमुखलाई धम्की दिने पाठक फिलिपिन्समा पक्राउ


3.2k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई हत्या गर्ने धम्की दिएका प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमार्फत जारी भएको डिफ्युजन नोटिसका आधारमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले उनलाई बुलाकान प्रान्तको मालोलोस सहर (पासेओ दे कांग्रेसो, बाराङ्गे क्याटमोन) बाट पक्राउ गरेको हो ।

The current image has no alternative text. The file name is: arrested.jpg

पाठक ३३ वर्षीय नेपाली नागरिक हुन् । फिलिपिन्सको अध्यागमन विभागले उनको फोटोसहितको विवरण सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला अदालतले २०२५ डिसेम्बर १ (मङ्सिर १५) मा आपराधिक विश्वासघात को कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । यसका अतिरिक्त, इन्टरपोलले २०२५ डिसेम्बर १२ मा प्रकाश पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको आरोपमा डिफ्युजन नोटिस जारी गरेको थियो । 

फिलिपिन्सको अध्यागमन विभागका अनुसार, पाठकले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने र हतियार पहुँचको संकेत दिने अभिव्यक्ति दिएका थिए । साथै, उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रमा पनि जोडिएका छन् । उनले आफूलाई ‘एक्ट्रीमिस्ट ग्रुप अफ नेपाल’ (उग्रवादी समूह) को प्रमुख बताउँदै प्रेमकुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूलाई हत्या गर्ने धम्की दिएका थिए ।

बीआईका अनुसार, पाठक २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेका थिए र उनको बसोबास अनुमति २०२५ डिसेम्बर १८ सम्म थियो । पक्राउपछि उनलाई डिपोर्टेसन (देश निकाला) प्रक्रिया पूरा नभएसम्म अध्यागमन हिरासतमा राखिएको छ । फिलिपिन्सका अधिकारीहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको निर्देशनअनुसार यो कारबाही भएको बताएका छन् ।

उनीहरूले फिलिपिन्सलाई फरार अपराधीहरूको सुरक्षित आश्रयस्थल बन्न नदिने नीति अङ्गीकार गरेको जोड दिएका छन् । यसअघि नेपाल प्रहरीले धम्की प्रकरणमा पाठकका तीन जना सहयोगीहरूलाई काठमाडौंमा पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । 

प्रतिक्रिया दिनुहोस्