
काठमाडौं । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनापछि वीरगञ्ज तनावग्रस्त बनेको छ ।
कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले आज सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । साथै प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।
भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाहीस्वरुप ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरिएको पर्सा प्रहरीका डीएसपी राजु कार्कीले जानकारी दिए ।
प्रहरीको कारबाहीपछि अहिले भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार तोडफोड र धार्मिक ग्रन्थ जलाइएको थियो । यो घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोबाट भएको प्रहरीले जनाएको छ ।
सुरुमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो बाहिरिएपछि आक्रोशित स्थानीय युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए ।
प्रहरीले लगत्तै भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेकै समयमा केही युवाको समूहले मस्जिदमा पुगेर आक्रमण गरेका थिए । सोही घटनाको प्रतिक्रिया स्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको धनुषा प्रहरी प्रमुख रुग्म कुँवरले जानकारी दिए ।












