
काठमाडौं । दाङमा श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका– २ केराघारीका २१ वर्षीय सुमन आले मगरलाई श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो ।
आलेलाई पुस १८ गते राति तुलसीपुर–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
सुमनले १७ वर्षीय श्रीमती खीमा परियारलाई पुस १२ गते बिहान तुलसीपुर–५ न्युरोडस्थित रुकमेली गेष्ट हाउसमा सामान्य विवादका कारण कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते परियारको नेपालगञ्जमा उपचारक्रममा पुस १८ गते निधन भएको थियो ।
हत्याको आरोपमा पक्राउ परेका सुमनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












