Logo
Logo

नवरात्रको आज पहिलो दिन : शक्तिपीठहरु भक्तजनका लागि खुला नगरिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ कार्तिक । नेपालीको महान पर्व बढादशैंको नवरात्र आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज दशैँ घर एवं पूजा कोठामा घटस्थापनासहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म नौ वटी देवीको विशेष आराधना गरिन्छ ।
यस वर्ष कोरोना संक्रमणको महामारीका कारण देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यकालगायत धेरै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो ।
पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उपत्यकामा कोरोना भाइरसका संक्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।
उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गर्छ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ । कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ ।
गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ । आममानिसलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन मन्त्रालयले यस्तो आह्वान गरेको हो ।
यसैबीच विश्व हिन्दू महासंघले भने नेपालीको महान् चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ । सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासंघले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो ।
महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रबार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेत्र भएको उल्लेख गरेका छन् । बडादशैँका अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्