काठमाडौं । नेपाली कांग्रेसका इतर समूहका नेता डा.शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेबारे देखिएको विवाद समाधानका लागि छलफलमा जुटेका छन् ।

आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा सोमबार बिहान कोइरालाले छलफल गरेका हुन् । छलफलमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेल, कांग्रेस धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महतसहितका नेताहरू सहभागी थिए ।
छलफलमा अहिले पार्टीभित्र देखिएको विवादको मध्यमार्गी समाधान के हुन सक्छ छलफल भएको हो । छलफलमा मध्यमार्गी प्रस्ताव खोज्न विषयमा पनि बहस भएको जनाइएको छ ।
शुक्रवार कार्यसम्पादन समितिले बहुमतले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहित ५ जनाले फरक मत राख्दै पुसभित्र विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व लिई निर्वाचनमा जानुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको छ ।
यता, महामन्त्री गगन थापाले भने विशेष महाधिवेशन गरेरै छाड्ने बताउँदै आएका छन् । कांग्रेसमा महाधिवेशन विवादलाई लिएर पार्टी नै विभाजन जाने खतरा बढ्दै गएको छ ।












