काठमाडौं । ओखलढुगाको चार्खु हत्या कान्डका अभियुक्त पक्राउ परेका छन् । प्रहरीले लामो समयको अनुसन्धान पश्चात् चार्खुमा भएको आपराधिक कार्यमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएको हो ।

केही महिना पहिलेदेखि जिल्लामा आपराधिक गिरोह नै बनाई लुटपाट, हत्या, चोरी जस्ता आपराधिक कार्य सञ्चालन गर्दै आएको उक्त समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पूर्वि पहाडी जिल्ला ओखलढुङ्गा अपराधीक गतिविधिमा सक्रियहरूको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्लाका प्रहरी प्रमुख डिएसपी मदन के।सी।ले बताए । प्रहरीले विभिन्न घटनाका अभियुक्तहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक समेत गरेको छ ।
गत असोज २६ गते र पुस १५ गते लुटपाट र हत्या कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज २६ गते राती अन्दाजी १० बजेको समयमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ४ चार्खुमा एकल महिलाको हत्या गरि फरार रहेका अभियुक्त पक्राउ गरिएको हो । चार्खुको ५२ वर्षीय एकल महिला रत्न कुमारी कटवाल (कार्की) लाई हतियार धारी समूहले बन्चरोले दाहिने पट्टीको कञ्चट तथा कानको भागमा प्रहार गरी बीभत्स हत्या गरी भागेका थिए ।
उक्त घटनाका अभियुक्त र पुस १५ गते साँझ ०८ः०० बजेको समयमा जिल्ला ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौरे गैरीगाँउ स्थित शोभितमान किराना पसल सञ्चालन गरी बस्ने अन्दाजी वर्ष ६० को सोवितमान थापा मगर र निजको श्रीमती अन्दाजी वर्ष ६० की रत्नमाया थापा मगरको हतियार धारी समूहले कोदालो तथा अन्य हतियारले दुवै श्रीमान् श्रीमतीलाई दाहिने पट्टीको कञ्चट तथा कानको भागमा प्रहार गरी बीभत्स हत्या गरी भागेका घटनाका अभियुक्त पक्राउ परेका हुन् ।
आपराधिक गिरोहले हत्या गर्ने र नगद तथा सुनको गरगहना समेत लुटी भागेकोमा लुटिएका केही सामग्री सहित अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको हो । डिएसपी के.सी का अनुसार २८ वर्षीय मिलन भन्ने संगम राई, वर्ष ३० को विनोद राई, वर्ष ३० कै प्रकाश भुजेल, वर्ष ३० कै दोर्जे भन्ने अशोक भुजेललाई पक्राउ गरिएको हो ।
ओखलढुङ्गालाई अपराधमुक्त जिल्ला बनाउने गरी विशेष प्रहरी अभियान चलाइएको डिएसपी के.सीले बताए । उनले भने, ‘जिल्लाका सबै क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ, हामी ओखलढुंगालाई अपराधमुक्त जिल्ला बनाउने अभियानमा छौं । स्थानीय बासिन्दाहरूले पनि यो अभियानमा साथ दिइरहनु भएको छ । ’












