काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला २ कारोबार दिनदेखि घटिरहेको नेप्से, आज सोमबार भने बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक २८.७३ अंक बढेर २६३९.३७ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब १ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३३५ स्टकको ८४ हजार ९९० पटकको कारोबारमा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड २४ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सोमबार ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सागर डिष्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, बन्दीपुर केबलकार एण्ड टुरिजम रु रु जलविद्युत परियोजना र बाराही हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । आज घटेका स्टकहरुको मूल्य गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत बढेको छ । त्यस्तै, सोमबार विकास बैंक र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।












