Logo
Logo

एमालेमा विरोधी ‘सफाया’ अभियान सुरू


3k
Shares

काठमाडौं । एमाले महाधिवेशन सम्पन्न भएको एक महिनापछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका विरोधीहरुलाई ठेगान लगाउन थालेका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको जित–हारको लेखाजोखाको विषय नसेलाउदै अध्यक्ष ओलीले आन्तरिक प्रतिस्पर्धीहरुलाई ठेगान लगाउन सुरु गरेका हुन् ।

समानुपातिक उम्मेदवारहरुको बन्द सूचीमा ईश्वर पोखरेल तथा सुरेन्द्र पाण्डे समूहलाई ‘बाइकट’ गरेका ओलीले प्रत्यक्षतर्फपनि त्यही विधि अपनाएका छन् । यतिबेला प्रत्यक्षतर्फको उम्मेदवारीको सिफरिस जिल्ला जिल्लाबाट आइरहँदा चितवनबाट सुरेन्द्र पाण्डेको नाम नै सिफारिस भएन ।

यसपटक पाण्डेलाई त्यहाँबाट सिफरिस नगर्नु भनेको अर्कोपटकबाट क्षेत्रविहिन बनाउनु हो । साथै, भविष्यमा पार्टी राजनीतिबाट बाहिर राख्नेगरी यो पल्ट सिफारिस नगरिएको स्रोतको दावी छ । ‘आगामी १२ औं महाधिवेशनलाई हेरेर पनि अहिले सिफारिस नगरिएको हो’, स्रोतले भन्यो । पाण्डे महासचिवका प्रतिस्पर्धी थिए ।

उपमहासचिव योगेश भट्टराईलाई रोक्न तिलकुमार मेयाङमो र क्षितिज थेवेलाई अघि सारिएको छ । झापामा अग्नी खरेललाई रोक्न ठूलो प्रयास गरिएको छ भने पाल्पामा ठाकुर गैरेलाई रोक्न खोजिएको छ । यता, दोलखामा पार्वत गुरुङले एकल सिफारिस गराएर आनन्द पोखरेल र रचना खड्कालाई रोकिदिएका छन् । तर, ओलीको भान्जा बताउने बालकृष्ण शिवाकोटीले पत्रकार सम्मेलन गरेर आफू उठ्ने बताइसकेका छन् ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको जित–हारको लेखाजोखाको विषय नसेलाउदै अध्यक्ष ओलीले आन्तरिक प्रतिस्पर्धीहरुलाई ठेगान लगाउन सुरु गरेका हुन् । समानुपातिक उम्मेदवारहरुको बन्द सूचीमा ईश्वर पोखरेल तथा सुरेन्द्र पाण्डे समूहलाई ‘बाइकट’ गरेका ओलीले प्रत्यक्षतर्फपनि त्यही विधि अपनाएका छन् ।

काभ्रेमा गोकुल बाँस्कोटालाई रोक्न ठूलो प्रयास गरिदैछ । काभ्रे २ का बाँस्कोटालाई रोक्न अशोक ब्याजुलाई अघि सारिएको छ । काभ्रे १ मा नविना लामालाई रोक्न अमित लामालाई अघि सारिएको छ ।

यसैगरी दाङमा महासचिव शंकर पोखरेल एकल सिफारिसमा परेका छन् भने रुपन्देही २ मा विष्णु पौडेललाई एकल सिफारिस गरिएको छ । सिन्धुलीमा गणेश पहाडीलाई रोक्न सुवास देवकोटासहित चार जनाको नाम सिफारिस गरिएको छ । मकवानपुर १ मा कृष्णप्रसाद दाहाललाई रोक्न हिदम लामालाई अघि सारिएको छ । ललितपुर १ मा यसपटक नवराज सिलवाललाई रोक्न प्रयास जारी रहेको छ ।

सर्लाहीमा कृष्णप्रसाद दाहाल रोकिने भएका छन् । उनको स्थानमा हरि उप्रेती सिफारिस भैसकेका छन् । सोलुखुम्बूमा बुद्धिकुमार राजभण्डारीलाई रोक्नेगरी मानवीर राइलाई अघि बढाइएको छ । यसपटक राजभण्डारीको पालो रहेकोमा त्यहाँ शेरधन राइले मानवीरलाई अघि सारेको हो ।

मोरङमा विनोद ढकाललाई रोक्ने प्रयास भैरहेको छ । यद्यपि, त्यहाँ ३ वटा क्षेत्रबाट उनको सिफारिस भएको छ । भोजपुरमा शेरधन राईको पीडाले ध्रुव राईले पार्टी छाडेर हर्क राईको पार्टीबाट टिकट लिइसकेका छन् । कृपासुर शेर्पाले शेरधनलाई मात्र नछाड्ने बताइरहेका छन् ।

इलाममा सुहाङ नेम्वाङ र झापा ५ मा केपी शर्मा ओली सुरक्षित बनेका छन् । धनकुटामा राजेन्द्र राइलाई छेक्न खोजेपनि उनी एकल सिफारिस भएका छन् ।
काठमाडौ क्षेत्र २ मा यसपटक पनि मणिराम फूयाललाई अघि सार्ने तयारी भएको छ । त्यहाँ सरिता न्यौपानेलाई रोक्न पुनः प्रयास गरिएको छ । कास्कीमा विद्या भट्टराइले चुनाव नलड्ने घोषणा गरिसकेकी छिन् ।

ओखलढुंगामा अमीरबाबु गुरुङलाई रोक्ने प्रयास भैहेको छ । यता इश्वर पोखरेललाई काठमाडौै क्षेत्र नं १ बाट एकल सिफारिस गरिएको छ । तर ओलीले सो क्षेत्रमा शान्ति अधिकारीलाई अघि सारिहेका छन् । पोखरेलले ओलीसँग आफूले कुरा गर्ने बताइरहेका छन् । उनको समूहलाई रोकेर एकल सिफारिस गरिएको हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले काठमाडौँ क्षेत्र ४मा चुनाव लड्ने इच्छा व्यक्त गरेपनि उनलाई टिकट दिने संभावना कम रहेको छ । काठमाडाँैमा सुरेन्द्र मानन्धर र कृष्णगोपाल श्रेष्ठ पनि यसपटक प्राथमिकतामा नपर्ने बताइएको छ । म्याग्दीमा प्रकाश पौडेललाई रोक्न हरिकृष्ण सुवेदीलाई अघि सारिएको छ । यसको अर्थ ईश्वर पोखरेल समूहलाई रोक्न शंकर पोखरेलले देशभर अर्को उम्मेदवार खडा गरेका छन् । प्यूठानमा विजयविराज विष्टलाई रोक्दै सूर्य थापा अघि बढ्ने निश्चित छ भने अर्घाखाँचीमा टोपबहदुर रायमाझी जेलमा भएको फाइदा पिताम्बर भूसाललाई परेको छ ।

यसैगरी, भक्तपुरमा २ मा महेश बस्नेतलाई एक्लै अघि सारिएको छ । राजेन्द्र राजथला पछि हटेका छन् । अरुले आँट नै गरेनन् । एमालेले १६५ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उठाउने उम्मेदवारको नाम सिफारिस गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्