काठमाडौं । राष्ट्रिय सभाका १९ सांसदको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछ । एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेबाहेक बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

एमाले र नेकपा मिल्दा मधेश प्रदेशबाहेक सबै प्रदेशमा जित्ने मतभार छ । एमाले र नेकपा मिलेको अवस्थामा मधेस प्रदेशमा भने मधेसी दलहरू निर्णायक देखिन्छन । कांग्रेस र मधेसी दल मिल्न सकेनन् भने मधेसमा पनि वामपन्थीकै जित निश्चित जस्तै छ ।
एमाले र नेकपा मिल्दा कोसी प्रदेशमा ५८३३ मतभार हुन्छ । कांग्रेसको मतभार जम्मा ३७२२ छ । बागमतीमा एमाले र नेकपा मिल्दा ५३०९ मतभार हुन्छ । कांग्रेसको मतभार ४०१३ छ । गण्डकीमा एमाले र नेकपा मिल्दा ३४७१ मतभार हुन्छ । कांग्रेसको मतभार २७०४ मात्रै छ ।
लुम्बिनीमा एमाले र नेकपा मिल्दा ४२०६ मतभार हुन्छ भने कांग्रेसको मतभार ३१७९ मात्रै छ । कर्णालीमा एमाले र नेकपा मिल्दा ३०३९ मतभार हुन्छ भने कांग्रेसको १८६३ मतभार मात्रै छ ।
सुदूरपश्चिमा २८९८ मतभार हुन्छ भने कांग्रेसको २५८८ मतभार छ । मधेसमा मात्र एमाले र नेकपा मिल्दा अन्य सबै दल एक ठाउँमा उभिए भने आवश्यक मतभार पुग्दैन । यसर्थ, वामपन्थी मिले भने राष्ट्रिय सभाका १८ मध्ये १४ सिट जित्ने मतभार छ ।
वाम एकता हुँदाको सुखद परिणाम टाढा छैन । तर दुर्भाग्य, एमालेको विचार शुन्य राजनीतिले वाम आन्दोलनको भविश्य अनिश्चित बनाउदै लगेको बेला नेपाली कम्युनिष्ट पार्टीको जन्म भएको छ । यसले परिणाममुखी काम गर्नुपर्छ ।












