काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र कटाक्ष गरेका छन् ।

पार्टीको वृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका हुन् ।
उनले शीर्ष नेताहरूतर्फ लक्षित गर्दै रिस र व्यङ्ग्य मिसाएर भने,’मलाई मात्र साढे ६ फिटको खाल्डो खन्ने हो भनेर भनेका थिए होला, तर अब तपाईँहरूलाई पनि यति ठूलो खाल्डो खन्नैपर्ने भयो-नखनी सुखै छैन जस्तो छ !’
‘पुराना राजनीतिक दलहरू परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो परेको देखिएको छु । उहाँहरूलाई म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । आफ्नो असक्षमतालाई स्विकार्नोस् । मूलक अत्यन्तै जर्जर अवस्थामा पुगिसकेको छ । कुशासनको चपेटामा परेर मुलुकलाई यो अवस्थामा पुर्याउनुभयो । थप जोडबल नगर्नोस् । योभन्दा बढ्ता प्रतिगमनको समपना नदेख्नोस्’, उनले भने, ‘अपदस्तको पराकाष्ठा भइसकेको छ । योभन्दा पर नजानोस् । निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनोस् । फेरि चलखेल नगर्नोस् । हात लम्काउने चम्काउने नगर्नोस् । निर्वाचनमा जनताले मत जायर गर्छन् । हामीले नयाँ इतिहास रच्नुछ ।’
देशले पाएको पटक पटकको अवसरलाई केही अवसरवादीले खतम पारेका लामिछानेले आरोप लगाए । जनतालाई साक्षी राखेर आफूहरूले मुलुकलाई अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।












