Logo
Logo

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु


- दृष्टि न्युज/संवाददाता


बाँके, १ कार्तिक । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, असोज २५ गते अस्पताल भर्ना हुुनभएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो । संक्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापी लगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा गएराति नौ बजे मृत्यु भएको हो ।
मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसिआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीय युवतीको गएराति १० बजे मृत्यु भएको छ । उनलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकका आफन्तसँगको समन्वयमा शवको व्यवस्थापन तयारी भईरहेको जानकारी दिए । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ भने बाहिरी जिल्लाबाट आई उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्