काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चैत १ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु गर्न लागेको छ । यसपटकको गणना ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित असार मसान्तसम्म चल्नेछ ।

गणनामा उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी र सार्वजनिक-निजी संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहको विवरण संकलन गरिनेछ । पाँच हजार गणकले देशभरका प्रतिष्ठानमा गएर तथ्याङ्क सङ्कलन गर्ने योजना छ ।
पहिलो गणना २०७५ मा ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान र ३२ लाख २८ हजार मानिस संलग्न भएको तथ्याङ्क संकलन गरिएको थियो । तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार, यो गणना नीति निर्माण र आर्थिक लक्ष्य मापनमा महत्वपूर्ण योगदान गर्नेछ ।












