काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी नेपाल आइपुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित विशेष कार्यक्रममा ट्रफी सार्वजनिक गरे ।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल, नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त रूपमा विश्वकप ट्रफी सार्वजनिक गरे।
क्यानका अनुसार ‘ट्रफी टुर’ कार्यक्रम अन्तर्गत भोलि बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म पोखरामा ट्रफीको फोटोशूट गरिनेछ । त्यस्तै, दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म काठमाडौँको वसन्तपुर क्षेत्रमा ट्रफी प्रदर्शनी तथा पर्सि दिउँसो २ बजेदेखि ३ बजेसम्म बौद्धनाथ स्तूप परिसरमा ट्रफी प्रदर्शन गरिनेछ ।
ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपाली खेलकुद क्षेत्रमा आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु सकारात्मक संकेत भएको बताए । टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवको विषय भएको उल्लेख गर्दै उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अघि बढिरहेको सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गरेको धारणा व्यक्त गरे ।
नेपालमा विश्वकप ट्रफी ल्याएर नेपाली क्रिकेट र समर्थकको उत्साह तथा आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीप्रति धन्यवादसमेत व्यक्त गरे ।
टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आएको हो । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।
आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा सुरु हुँदैछ । नेपालसहित २० टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ ।












