काठमाडौँ । केही दिनअघि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामसँग जोडेर मालपोत कार्यालयमा घुस मागिएको भन्ने चर्चा चलेको थियो ।

केही सञ्चारमाध्यमले यस विषयलाई प्राथमिकताका साथ समाचार बनाएका थिए।
यहीबीच सरकारले ललितपुर, भक्तपुर र काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका प्रमुख अधिकृतहरूलाई सरुवा गर्ने निर्णय गर्यो । ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घमिरे र चाबहिलका प्रमुख दीपेन्द्र खत्रीलाई सरुवा गरिएको थियो । यो निर्णयसँगै मन्त्रीसँग घुस मागिएको हल्लाले झनै चर्चा पायो ।
तर मन्त्रालयले भने उक्त हल्ला निराधार भएको स्पष्ट पारेको छ। मंगलबार सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै मन्त्री इङ्नामले आफूले घुस खुवाएको स्वीकार गरे पनि त्यो घटना आफू मन्त्री हुनुअघि भएको बताए ।
‘मैले घुस चाहिँ खुवाएको हुँ, तर त्यो कात्तिक महिनामा हो, म मन्त्री बन्नुभन्दा अगाडिकै,’ इङ्नामले भने, ‘अहिले छड्के अनुगमनका क्रममा मालपोत कार्यालयहरूमा बिचौलियासँग साँठगाँठ देखिएपछि जिम्मेवारी हेरफेर गरिएको हो ।’












