Logo
Logo

जात्रा, मेला लगाउन रोक


- दृष्टि न्युज/संवाददाता


जाजरकोट, २ कार्तिक । कोरोना संक्र्रमण बढ्दै गएपछि जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरी नगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो निर्णय गरेको हो भने रुकुमपश्चिमले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको हो ।
बारेकोटमा रामीडाँडा, कार्कीज्यूला, सुगुरखाल मेला लाग्ने गर्दछन् । रुकुममा घटस्थापनादेखि धार्मिक र परम्परागत मेला लाग्छन् । ती सबै मेलालाई रोक्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो ।
सामाजिक दूरी कायम गरी सतर्कता अपनाई धार्मिक कार्य गर्न भने छुट दिइएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । उनले भने, ‘सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो । चाडपर्व मनाउन पनि निश्चित मापदण्ड बनाएका छौँ ।’
जिल्लामा दशैँदेखि धार्मिक, परम्परागत तथा पर्व विशेषका मेला हप्तैपिच्छे लाग्छन् । डिग्रे साइकुमारी, चौतारा, चिसापानी, बेलटापु, कुनाखेत, शंखपिपललगायत मेला जिल्लाका ठूला मेला मानिन्छन् । प्रशासनले सूचना जारी गरेसँगै पाँच दिनसम्म लाग्ने डिग्रेमेला पनि यो वर्ष नलाग्ने भएको हो । मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउँछन् । डिग्रेमेला हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्