काठमाडौं । गायिका तथा गीतकार अनिला राई यतिखेर नेपालमा छिन् । बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला क्रिसमस विदाको मौका छोपेर नेपाल आएकी हुन् । यसै अवसरमा अनिलाले एक म्युजिक भिडियो सार्वजनिक गर्नुका साथै चार वटा गीत रेकर्ड गरेकी छन् ।

एक महिने विदामा नेपाल आएकी अनिलाले यस पटक ‘युद्धभूमि’ बोल गीतको भिडियो ल्याएकी हुन् । गायिका अनिलाकै शब्द र शान्तिराम राईको संगीत रहेको ‘युद्धभूमि’ गीतको भिडियोमा अनिलासँगै नन्दराज प्रोचा राई फिचरिङ छन् । यो गीत लाहूरेको जीवन गाथा र पारिवारिक प्रेममा आधारित रहेर तयार गरिएको छ ।
यसैबीच अनिलाले यस पटक आफ्नै शब्द र युवा संगीतकार पवन बान्तवा राईको संगीतमा चार वटा गीत रेर्कडिङ गरेकी छन् । अनिलाले ‘तिमी मेरो साथी’, ‘हे भगवान’, ‘मेरो जीवन’ र ‘बाँसको भाटा’ बोलको गीत गाएकी हुन् । अनिलाले यसपटक आफ्नो धारभन्दा केही फरकशैलीका गीत गाएकी छन् । ‘बाँसको भाटा’ बोलको गीत भने लोकगीत हो ।
विगत दुई दशकदेखि बेलायत बस्दै आएकी अनिलाले हालसम्म एक सयभन्दा बढी गीत गाइसकेकी छन् । उनी भन्छिन्, ‘म जहाँ रहेपनि मेरो मन मुटुमा नेपाल र नेपाली गीतसंगीतमा प्रगाढ लगाव छ । त्यसैले नेपाल आएको बेला गीत र भिडियो निर्माण गर्ने गरेकी छु ।’ बेलायतमा समेत विभिन्न सांगीतिक कार्यक्रमहरुमा सक्रिय रहँदै आएकी अनिला विभिन्न सामाजिक संस्थाहरुमा पनि आवद्ध छिन् ।
यसैबीच करिब ढेड दशकको अन्तरालमा अनिलाले आफ्नो गाउँ टेकेकी छन् अर्थात १६ वर्षपछि उनी यसपटक सोलु पुगेर गाउँघरको अनुभव गरेकी छन् । १६ वर्षपछि गाउँ पुग्दा रमाइलो अनुभव लागेको बताउँदै त्यहाँको विकास हेर्दा आफू चकित भएको सुनाइन् ।
‘गाउँघर त पुरै विकास भएछ । मैले गाउँ छाड्दा सडक थिएन, बित्ती थिएन । अहिले गाउँघरमा चिल्लो सडक र झिलिमिलि भएको रहेछ’ उनले भनिन्, ‘यति मात्र नभएर गाउँघरको अग्र्यानिक खाना हराउँदै गएछ । त्यहाँ मान्छेहरु लोकल खान छाडेर कोक र वियर खाने रहेछन् ।’ उनले मान्छेहरु ढिँडो खाने र चामलको भात सुँगुरलाई खुवाउने गरेको देख्दा आफू अचम्म परेको सुनाइन् । ‘विकाससँगै गाउँघरको जीवनशैली परिवर्तन भएको देख्दा खुसी लाग्यो’ गायिका अनिलाले भनिन् ।












