काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण आगामी ९-१२ महिनासम्म मैदानबाहिर रहने भएकी छिन् ।

अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्गटन फिनिक्सबाट खेलिरहेकी भण्डारीको दाहिने घुँडाको ‘एसीएल’ पूर्ण रूपमा च्यातिएको एमआरआई रिपोर्टले पुष्टि गरेको छ । क्लबका अनुसार, उनले बाँकी लिगका सबै खेल गुमाउनेछन् ।
भण्डारीलाई चोट शनिवार ब्रिस्बेन रोअरसँगको खेलमा विपक्षी गोलकिपरसँग ठोक्किएपछि लागेको थियो । यससँगै उनी सिजनको अन्त्यतिर टोलीबाट बाहिरिने तेस्रो खेलाडी बनेकी छिन् । यसअघि मिडफिल्डर टेसेल मिडाग र एलिसा व्हिनह्याम पनि टोलीबाट बाहिरिसकेका थिए ।
अस्ट्रेलियन ए लिगमा यस सिजन आबद्ध भण्डारीले तीन गोल गरिसकेकी छन्।












