काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई बुधबार दिउँसो कार्यकक्षमै चार जनाले मोसो दल्ने घटना भएको छ ।

ओझाले भने, “मैले नचिनेका चार जना आएर अस्पतालको सेवा सुविधा बारे सोध्न थाले । मैले पानी खाउँ भन्दै सामान्य कुराकानी गरिरहेको थिएँ, एक्कासी मोसो दल्न थाले । प्रवेश गर्दा उनीहरूको व्यवहार सामान्य देखिएको थियो ।”
अध्यक्ष ओझाले थपे, “काम गर्ने क्रममा गल्ती–कमी भएको रहे कानुनी प्रक्रिया अपनाउनुपर्छ, तर यसरी गैरकानुनी हर्कत गर्नु कसैले पाउनु हुँदैन ।”
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार, मोसो दल्नेहरू जंगलतिर भागेका छन् र छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयअनुसार, ओझा ३ जेठ २०८० मा तीन वर्षका लागि अध्यक्ष नियुक्त भएका थिए ।












