एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने सम्भावित विकल्पहरूबारे छलफल गरिरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रीनल्यान्ड अधिग्रहण अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकतामा रहेको बताउँदै राष्ट्रपति र उनको टोलीले यस विषयमा सबै सम्भावित विकल्पहरूबारे छलफल गरिरहेको जानकारी दिएका छन् । समाचार संस्था एएफपीका अनुसार लेभिटले आवश्यक परे अमेरिकी सेनाको प्रयोग पनि राष्ट्रपतिको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गर्नुभएको छ।
रुस र चीनजस्ता विरोधी शक्तिहरूले आर्कटिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सक्ने भएकाले ग्रीनल्यान्डसम्बन्धी अमेरिकी योजना रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण रहेको ह्वाइट हाउसको दाबी छ ।
हाल ग्रीनल्यान्ड नेटो सदस्य राष्ट्र डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र हो। डेनमार्कले ग्रीनल्यान्डमाथि अमेरिकाले गर्ने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्दै आएको छ।
यस विषयमा युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कको समर्थन जनाएका छन्। ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले टापुको भविष्यबारे निर्णय गर्ने अधिकार त्यहाँका बासिन्दामै निहित रहने बताएका छन्।
ग्रीनल्यान्डको जनसङ्ख्या करिब ५७ हजार रहेको छ। भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपपछि ग्रीनल्यान्डको भविष्यसम्बन्धी बहस पुनः अन्तर्राष्ट्रिय स्तरमा चर्किएको हो। राष्ट्रपति ट्रम्पले यसअघि चुनावी प्रचारका क्रममा नै ग्रीनल्यान्ड किनेर अमेरिकामा गाभ्ने अभिव्यक्ति दिएका थिए ।
विश्वकै सबैभन्दा ठूलो टापु ग्रीनल्यान्ड चारैतिर ८० प्रतिशत आर्कटिक महासागर र करिब २० प्रतिशत उत्तरी एटलान्टिक महासागरले घेरिएको छ। यहाँ प्रकृति, आत्मा र देवतासँग सम्बन्धित थुप्रै किंवदन्तीहरू प्रचलित छन् । पुरातात्त्विक तथा ऐतिहासिक प्रमाणअनुसार कम्तीमा ४ हजार ५ सय वर्षअघि देखि यहाँ मानव बसोबास रहेको देखिन्छ ।
आर्कटिक समुद्री क्षेत्रमा रुस, क्यानडा, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे, स्वीडेन र अमेरिका गरी आठ देश रहेका छन् । रुसबाहेक अन्य सबै देश उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य हुन् । नेटोको नियमअनुसार सदस्य राष्ट्रमध्ये एकमाथि बाह्य आक्रमण भएमा सबैले संयुक्त रूपमा प्रतिवाद गर्छन् ।
सन् २००७ मा सार्वजनिक अमेरिकी भूगर्भीय सर्वेक्षण प्रतिवेदनअनुसार ग्रीनल्यान्डको तटवर्ती क्षेत्रमा उल्लेखनीय मात्रामा तेल र ग्यास भण्डार हुन सक्ने अनुमान गरिएको छ । साथै, विश्वको करिब २० प्रतिशत स्वच्छ पानी ग्रीनल्यान्डमा रहेको विश्वास गरिन्छ।












