Logo
Logo

मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घोषणा- ‘उज्यालो नेपाल बनाउन भोलिदेखि नै राजनीतिमा सक्रिय हुन्छु’


1.2k
Shares

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल निर्माणका लागि अब आफ्नो यात्रा राजनीतिको माध्यमबाट अघि बढ्ने बताएका छन्। प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका हुन्।

राजीनामापछि प्रतिक्रिया दिँदै उनले अब भोलिदेखि नै पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने स्पष्ट पारे। यसअघि मन्त्रालयको काममा व्यस्त भएकाले खुला रूपमा राजनीतिमा लाग्न नसकेको उल्लेख गर्दै अब भने सक्रिय राजनीतिक भूमिकामा देखिने बताए।

‘म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ घिसिङले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रूपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ। यही बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’

उनले देशभित्र देखिएका समसामयिक समस्या, वर्तमान परिस्थिति र अवस्थालाई परिवर्तन गर्न राजनीतिक नेतृत्व आवश्यक रहेको भन्दै त्यसकै लागि राजनीतिमा प्रवेश गर्न लागेको बताए।

‘अब त्यो समय आएको छ। भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ र प्रभावकारी रूपमा अघि बढ्छ,’ उनले भने, ‘देशको वर्तमान अवस्था परिवर्तन गर्न राजनीतिक नेतृत्वमा जानका लागि मैले आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर अगाडि बढेको हुँ।’

घिसिङ यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको समझदारीअनुसार उपसभापति बन्ने सहमति भएको चर्चा चलेको थियो। तर, उनले उक्त समझदारी हालसम्म कार्यान्वयन नभएको स्पष्ट पारे।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भए पनि त्यो समझदारी अहिलेसम्म कार्यान्वयनमा आएको छैन,’ उनले भने, ‘मैले हालसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन।’

प्रतिक्रिया दिनुहोस्