काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट वार्ता भएको छ । उनीहरूबीच आज बिहीबार दिउँसो ३ घण्टा वार्ता भएको हो ।

ओली र प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि ३ घण्टा भेट भएको थियो । उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको जनाइएको छ । कुराकानीको क्रममा ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको जानकारी गराएको बताइएको छ ।
त्यसक्रममा ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसै क्रममा प्रधानमन्त्री कार्कीले एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा खुसी प्रकट गर्दै बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा धन्यवाद दिएकी थिइन् ।












