Logo
Logo

संवाद र सहमतिबाट निकास निकाल्न कांग्रेसका २५ केन्द्रीय सदस्यको अपिल


819
Shares

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् ।

शुक्रबार बिहान भएको छलफलपछि संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई आग्रह गरेको हो ।

‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरूरी रहेको जोड दिँदै उनीहरूले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन् ।

फागुनको निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको यो समूहले २२ पुसमा नेता डा. शेखर कोइराला र १८ पुसमा सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो ।

२५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो । अहिले संस्थापन पक्षले कार्यसम्पादन समितिको बैठकबाट बैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने यहि पुस २७–२८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् । उनीहरुले भृकुटीमण्डप समेत बुक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्