
आज !
नातावाद र कृपावादको
लोकप्रियतावादी महोत्सवमा
तिम्रा खोक्रो समावेशीकरणको
शासकीय अनुहारमा
परिवर्तनको नाङ्गो चरित्र पनि देखियो।
तिम्रो समावेशीताको सहरमा
सुरा सुन्दरीहरुको हाँसो
गडगडाहट रुपमा गुन्जियो।
तिम्रा सम्रान्त र घरानीयांका
लेनदेनको सुगन्ध साम्राज्यवादी
मालिकको दरवार सम्म फैलियो।
किसान र मजदुरको
कुटो,कोदालो र बेल्चाका
आवाज नसुन्ने तिम्रा बैरा कानहरु
एउटा विलासी दरवारको
भग्नाअवशेष पन्छाएर
तिमी अर्को झुट र लुटको महल
उठाउन खोज्दैछौ।
तिमी त !
शब्द-शब्दले स्वर्गको सपना बाँड्न सक्छौं।
तिम्रो साम्राज्यको सिंहासन उठाउन
हामी त प्रत्येक पाईला-पाईलामा
श्रम र पसिनाको गन्धले भिज्नेछौ।
तिम्रो लुटको लङ्का सजाउन।
तिम्रो !
लोकप्रियतावादी सांस्कृतिक महोत्सवमा
सनै, डम्फु र ढोलहरु बजेनन्
किनकी?
त्यहाँ ब्यान्ड बाजा घन्कीयो।
आधुनिकतावाद र छद्मवादको
संगित गुन्जियो।
धोती, कछाड, दौरासुरुवाल र गुन्युचोलोको मजाक उडाइयो।
किनकि?
त्यहाँ जमिन जोत्ने किसान होईन पाँचतारेमा लन्च,डिनर र ब्रेकफास्ट गर्ने ग्राहकहरुको फेसनसो थियो।
झुपडीको
दुख,पीडा र अभावका बस्तीहरुमा
समानता र समावेशीताको नक्कली ढोल बजाउँदै सुकिला-मुकिला
जान्ने गिद्दहरु आकाशमा
उडिरहेछन्।
सुशासनको झ्याली पिट्न जान्ने लोकप्रिय भजन मण्डलीहरु सत्ता भागबन्डाको प्रशाद
बाँडिरहेछन्।
तिमी
अन्धविश्वासको खेतिमा सत्ताको
छद्मभेशी बिऊ छरिरहेछौ।
भोका,नाङ्गा सिकारहरु
कुन सिकारी छान्न ब्यस्त छन्।
कालरात्रिका अबोध
बोकाहरु फागुण एकाईसमा
रेटिन आतुर छन्।
जान्नेहरुले छानी-छानी आधुनिक हतियारमा धार लगाउँदैछन्।
पुराना हतियारहरु आरनमा
पोलिएका छन् ।
थन्किने र फर्किने दोसाँधमा
छन्।
जान्नेहरुले छानी-छानी
लगाएको धारले
भ्रष्टाचार ,कुशासन, विभेद र असमानताको घाँटी कसरी रेटिएला?
किनकि !
जान्नेहरुले उठाउंदै गरेका विभेदका पर्खालहरु
अन्याय र अत्याचारको कारागार बन्नेछन्।
सामाजिक अन्तरविरोधका खाडल हुनेछन।
तिम्रो
हत्तार-हत्तारको सत्ता आरोहणमा कयौं निर्दोष
कलिला मुनाहरु चुडिएका छन्।
हाम्रा सम्पदाहरु खरानीको थुप्रोमा
परिणत भएका छन।
खवरदार!
फेरीपनि निर्दोष आमाका छोराछोरीले
प्रचण्ड मसाल बनेर दन्कीन नपरोस्।












