Logo
Logo

‘पपुलिज्म’ले देशको स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँछ : ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीति भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनस्थापित गर्ने भन्ने विषयमा ध्रुवीकृत हुन थालेको बताएका छन् ।

The current image has no alternative text. The file name is: kp-oli.jpg

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशको राजनीति पुराना र नयाँबीच ध्रुवीकृत हुन लागेको विश्लेषण भएपनि भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनस्थापित गर्ने भन्ने विषयमा ध्रुवीकृत हुन थालेको बताएका हुन् ।  

उनले धम्की, घृणा, निषेध र हिंसाको बलमा लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन सम्भव नभएपछि र आफूहरूले गराएकै निर्वाचनका माध्यमबाट पनि लोकतान्त्रिक शक्तिहरूले पुनरागमन गर्ने देखेपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेको अवस्था रहेको बताए ।

उनले राजनीतिक पार्टीहरूकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुने भन्दै यतिबेला विचारविहीन, कुनै सार्वजनिक जबाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरूलाई चुनौती दिइरहेको आरोप लगाएका छन् । 

उनले भने,’कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरूले हेर्दा हेर्दै समस्याहरूको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदै छ । तर न त विध्वंस आन्दोलन हो, न ‘पपुलिज्म’ नै अग्रगामी विकल्प । ‘पपुलिज्म‘ ले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंस र यही हो सिलसिला १ थप समस्या जन्माउँदै जान्छ ।’

उनले  सत्तामा जान जस्तो सुकै भावना पनि बेच्ने र जस्तो सुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरुले  देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्ने बताए । भदौ २४ को विध्वंशको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्दत् र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्त्वहरूबाट जनतालाई भ्रममुक्त गर्नुपर्ने बताए ।

उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइनसकेको बताउँदै लोकतन्त्र सङ्कटमा रहेको र संविधान मिचिएको अवस्थामा रहेको बैठकमा बताए । 

उनले भने’ ‘जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएका छन् । मुलुकमा केही पनि भएन भनेर जबर्जस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरूमा निराशा र अन्योल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ ।’

अहिलेको अवस्थालाई चिर्न संविधानका पक्षधर  र लोकतान्त्रिक शक्तिहरू बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी रहेकोमा जोड दिए । उनले एमालेले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा र आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूका साथ सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्