Logo
Logo

विशेष महाधिवेशन वैधानिक छैन : प्रकाशशरण महत


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको चर्चा तथा सन्दर्भलाई यहीँ रोक्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: mahat.jpg

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले पहिल्यै नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको र सोहीअनुसार संशोधित कार्यतालिका पारित भइसकेको उल्लेख गरे ।

उनले निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै पदाधिकारीहरूले त झन् यसको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।  ‘पार्टीले एउटा निर्णय गरिसकेको छ-नियमित महाधिवेशन गर्ने । यो समयमा नियमित अधिवेशन सम्पन्न गर्न नसकिने अवस्थामा संशोधित कार्यतालिका पास भएको छ । यो निर्णय हामी सबैले मान्नुपर्छ,’ महतले भने, ‘यो अवस्थामा विशेष महाधिवेशन वैधानिक तथा व्यवहारिक दृष्टिकोणबाट उचित छैन । विशेष महाधिवेशनमा सहभागी हुनुहुँदैन ।’

उनले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनको सन्दर्भलाई तत्काल रोक्न आग्रह गरे । ‘हामी अझै पनि चाहन्छौँ कि विशेष अधिवेशनको यो चर्चा यहीँ रोकियोस् । सम्पूर्ण पार्टी एकजुट भएर अगाडि बढौँ,’ उनले भने ।  महतले कांग्रेस आम कार्यकर्ताको भावनाअनुसार चल्ने पार्टी भएको बताउँदै अबको ध्यान विभाजनमा नभई एकतामा केन्द्रित हुनुपर्ने बताए । उनले भने,  ‘आम निर्वाचनमा जाने क्रममा स्पष्ट एजेन्डा लिएर जनतामाझ जाने विषयमा सोचौँ । नीतिगत प्रस्तावहरू केन्द्रीय समितिबाट पारित गरौँ । यो बेला हामी विभाजित हुने होइन, एकत्रित भएर पार्टीको सम्पूर्ण शक्ति आम निर्वाचनमा लगाऔँ ।’ 

प्रतिक्रिया दिनुहोस्