Logo
Logo

दुई साता नबित्दै किन टुट्यो रवि र कुलमानबीचको सहकार्य


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङबीचको राजनीतिक सहकार्य तथा एकता प्रक्रिया दुई साता नबित्दै भङ्ग भएको छ ।

गत पुस १४ गते भएको सम्झौताअनुसार घिसिङ रास्वपाको उपसभापति बन्ने र दुवै पार्टी एकताबद्ध हुने घोषणा गरिएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यो सम्झौताको साक्षीसमेत बसेका थिए । तर, शनिवार दुवै पक्ष एकता प्रक्रिया अघि नबढ्ने निर्णयमा पुगेका हुन् ।

रास्वपाले उनेपासँगको एकता सम्झौता पार्टीको सचिवालय वा केन्द्रीय समितिबाट अनुमोदन नभएको बताउँदै यो केवल प्रक्रियाका रूपमा मात्रै रहेको जनाएको छ । रास्वपाका अनुसार सम्झौताले साङ्गठनिक अस्तित्व पाइसकेको थिएन ।

रास्वपाले घिसिङ पक्षबाट धेरै पदाधिकारी पद र शक्ति बाँडफाँडको माग आएको, लोकतान्त्रिक मूल्यहरूको अभ्यासमा परिमार्जनको विषय तथा समानुपातिक र प्रत्यक्ष उम्मेदवार छनोटमा जोखिम रहेको बताउँदा एकता सम्भव नभएको जनाएको छ । 

यता कुलमान घिसिङले रास्वपाले एकतर्फी रूपमा घोषणा गरेको आरोप लगाएका छन् । शनिवार नै उनेपाको अध्यक्षमा चयन भएका घिसिङले पत्रकार सम्मेलनमा भने, “हामीले अन्तिम समयसम्म एकता अघि बढाउने प्रयास गरेका थियौँ । मैले आफूलाई रास्वपाको साधारण सदस्य बनाएर पनि बस्ने र हाम्रा केन्द्रीय समिति सदस्यहरूलाई केही स्थान दिने प्रस्ताव राखेँ ।”

उनले पदको मोलमोलाईको आरोप अस्वीकार गर्दै समावेशीता, सङ्घीयता जस्ता संवैधानिक विषयमा पूरक सम्झौता गर्न खोजेको तर रास्वपाले ढिलाइ गरेको बताए । यसले उनेपालाई ठूलो क्षति पुगेको उनको भनाइ छ । 

एकता प्रयास भङ्ग भएसँगै घिसिङले उज्यालो नेपाल पार्टीमै निरन्तरता दिएका छन् । यसअघि उनी सरकारबाट बाहिरिएका थिए किनकि रास्वपाको उपसभापति बन्ने घोषणापछि मन्त्री पदमा बसिरहन नैतिक प्रश्न उठेको थियो । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय पाउने घिसिङले सरकारमै रहँदा उज्यालो नेपाल पार्टी गठन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्