काठमाडौं । १८ महिनाअघि मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला परेको छ।

भरतपुर महानगरपालिका-२९, स्थित सिमलतालमा भएको दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र केही टिनका भाग आज आइतबार फेला परेका हुन् ।
आज बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै खोतल्ने काम सुरु गरेको छ ।
गाडिएको अवस्थामा फेला परेको बसको अवशेषबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आवश्यक प्राविधिक परीक्षण र प्रमाणका आधारमा पहिचान गर्ने कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
२०७१ असार २८ गते बिहान करिब ३ बजे सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।
दुर्घटनामा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस परेका थिए ।
दुर्घटनाका समयमा दुईवटा बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्ये तीन जना घाइते अवस्थामा उद्धार भएका थिए भने ११ जनाको शव फेला परेको थियो ।
बाँकी ५१ जना यात्रु हालसम्म बेपत्ता छन्। बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो । लामो समयको खोजीपछि पनि बस फेला नपरेपछि खोजी स्थगन गरिएको थियो ।












