काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीमा एकता कायम राख्न आफू निरन्तर प्रयासरत रहेको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन नजिकिँदै गर्दा जारी गरेको भिडियो सन्देशमा उनले पार्टी विभाजन हुन नदिन आफू सचेत रहेको जोड दिएका छन् ।

उनले भने,‘मेरो प्रस्तुति र शैलीप्रति केही साथीहरू असहमत हुनुहुन्छ भन्ने मलाई थाहा छ । तर पनि मैले कांग्रेसको रूपान्तरण अभियानमा कहिल्यै आक्रोश वा अधैर्यता देखाइनँ । म स्पष्ट रूपमा भन्न चाहन्छु-मेरो कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा छैन । विगतमा मन्त्री वा महामन्त्री बन्ने अवसरहरू पटक-पटक आए, तर मैले कहिल्यै लोभ देखाइनँ । त्यसैगरी सभापति वा प्रधानमन्त्री बन्ने कुराले पनि मलाई आकर्षित गर्दैन ।’
आफ्नो परिवारबाट प्राप्त शिक्षा र जीवन दर्शनलाई नै आधार बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै कोइरालाले भने,‘यही दर्शनबाट प्रेरित भएर म कांग्रेसको समग्र एकताको पक्षमा शान्त र निरन्तर आवाज उठाइरहेको छु । यस क्रममा एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग सामना गर्नुप¥यो भने अर्कोतिर ऊर्जावान तथा जोसिला युवा साथीहरूको असन्तोषको पनि सामना गर्नु परिरहेको छ ।’
विशेष महाधिवेशनको अभियान चलिरहँदा आफूले केन्द्रीय कार्यसमितिमा लिखित रूपमा आफ्नो मत राखिसकेको उनले बताए । उनले भने, ‘हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई जोड्दै समग्र एकताको सन्देश दिने महाधिवेशन गर्न सक्दैनौँ र रु हाम्रा समर्थक, शुभचिन्तक तथा अन्तर्राष्ट्रिय समुदायले पनि हामीलाई एकताबद्ध देख्न चाहँदैनन् र रु यसबारे गम्भीर भएर सोचौँ ।’
महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको अमूल्य धरोहर बताउँदै उनले भने, ‘तपाईँहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आउनुभएको छ । पार्टी विधानको कार्यान्वयन गर्ने सङ्कल्पसहित समग्र कांग्रेसको हितमा एकताबद्ध पार्टी निर्माण गर्ने ऐतिहासिक दायित्व पनि तपाईँहरूमा छ भन्ने मेरो गहिरो विश्वास छ ।’ यसका लागि आफूले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको र निकास निस्किएसम्म निरन्तर लागिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।












