काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म करिब आधा महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकका अनुसार ४९ दशमलब ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । नेपाली कांग्रेसमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका थिए । तर, तीन महिनासम्म पार्टी संस्थापन पक्षले उक्त मागलाई बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
सोहीअनुसार आज काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र जारी छ ।
उद्घाटन सत्र काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ । विशेष महाधिवेशन भोलिसम्म चल्ने कार्यक्रम छ ।












