काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए ।
उनले भने, ‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुछ । पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन, यो उपस्थितिले कांग्रेस बदल्ने मात्र होइन, देश बदल्ने सोच राखेको छ ।’
जेनजी आन्दोलनपछिको अवस्थामा नेतृत्व बदलिन नचाहेको उनको भनाइ थियो। अब आफू पनि बदलिन र देशलाई पनि बदल्नुपर्ने उनले बताए। ‘बदलिएको समय अनुसार, कांग्रेसलाई बदल्नुछ,’ शर्माले भने, ‘हामी बद्लिन पनि सक्छौँ, देशलाई बदल्न पनि सक्छौँ। कांग्रेस पनि बदल्छौँ, देश पनि बदल्छौँ।’
जेनजी आन्दोलनमा ध्वस्त भएका संरचनासँग समाजलाई पनि जोड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। ‘ध्वंस भएका भवन मात्रै होइन, मनलाई पनि जोड्न विशेष महाधिवेशनमा उभिएका छौँ,’ उनले भने।
अहिलेसम्म कांग्रेसबाट भएका कमिकमजोरीमा आफ्नो पनि केही हिस्सा रहेको उनको स्वीकारोक्ति थियो। ‘अहिलेसम्म जेजस्ता कमजोरी भएका छन्, ड्राइभिङ सिटको छेउमा बसेकाले त्यसको केही हिस्सा हामी पनि लिन्छौँ’, महामन्त्री शर्माले भने, ‘त्यसलाई स्वीकारेर हामीले भनेका हौँ, पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन, नयाँ ढंगले जानुपर्छ।’












